थप समाचारसोमबार, साउन ५, २०७१
आइपुगे उपमहासचिव लाड्सौस
दुईदिने औपचारिक भ्रमणका लागि संयुक्त राष्ट्रसंघका उपमहासचिव लाड्सौस ५ साउनमा नेपाल आइपुगेका हुन् । नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान लेखनका क्रममा भएका प्रगति तथा नेपाली सेना र सुरक्षा निकायको वस्तुस्थितिबारे जानकारी लिने उद्देश्यले उनी भ्रमणमा आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनी सरकारको निमन्त्रणामा नेपाल आएका हुन् । भ्रमणका क्रममा उनले राष्ट्रपति डा। रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सहसचिव एवम् संयुक्त राष्ट्रसङ्घ महाशाखा प्रमुख दीपक धिताल, नेपालस्थित संयुक्त राष्ट्रसङ्घका कायममुकाय प्रमुख निकोल मिनाज, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दुर्जकुमार राई, नेपाली सेनाका वरिष्ठ अधिकारी तथा परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकृत पुरुषोत्तम ढुङ्गानालगायतले स्वागत गरेका थिए ।
रासस

