समाचारसोमबार, साउन ५, २०७१
अवैध हतियार बुझाउन सरकारको अपील
गृह मन्त्रालयले आफूसँग भएको अवैध हातहतियार तथा खरखजाना तोकिएको निकायमा निर्धारित समयावधिभित्र बुझाउन सर्वसाधारण जनतालाई अपील गरेको हो । मन्त्रालयले ५ साउनमा विज्ञप्ति निकालेर आफूसँग भएको अवैध हातहतियार तथा खरखजाना जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी निकायमा बुझाउन भनेको छ ।

गृह मन्त्रालयको सूचनापछि जिल्ला प्रहरी कार्यालय इलाममा बुझाइएका अवैध हतियार । तस्वीरः लक्ष्मीप्रसाद मिश्र
विज्ञप्तिमा लेखिएको छ, “प्रचलित कानुनी व्यवस्थाबारे जानकारी नभएर वा अरु कसैको लहैलहैमा लागेर बिना अनुमति हातहतियार तथा खरखजाना राखेको भए त्यस्ता व्यक्तिलाई आफूसँग भएका सबै किसिमका अवैध हातहतियार तथा खरखजाना जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी निकायमा बुझाउन पाउने गरी सरकारले २०७१ साउन २ को निर्णयअनुसार विशेष व्यवस्था गरेको छ ।”
अवैध हातहतियार फेला परेमा प्रचलित कानुनबमोजिम त्यस्ता व्यक्तिलाई पाँच वर्षसम्म कैद वा रु१ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यहोरासमेत मन्त्रालयले जानकारी गराएको छ ।
