समाचारमंगलबार, साउन ६, २०७१
‘रिम्पोचेको अन्त्येष्टि नेपालमै गर्न देऊ’
जर्मनीमा हृदयघातबाट निधन भएका १४ औं अवतारी श्यामार्पा रिम्पोचेको अन्त्येस्टि नेपालमा गर्ने विषयमा भू–राजनीतिक बखेडा उठाउनु वाञ्छनिय नभएको भन्दै नागरिक अगुवाहरुले नेपाललाई कार्यथलो बनाएका रिम्पोचेको पार्थिव शरीर नेपालमै समाधिस्थ गर्ने वातावरण बनाउन अपिल गरेका छन् ।
“१४ औं श्यामार्पा रिम्पोचेको अन्त्येष्टि उहाँ र उहाँका अनुयायीहरूको भावना एवम् मानवीय मूल्य र मान्यता बमोजिम नेपालमै हुने वातावरण बनाई देशको अन्तर्राष्ट्रिय छवि र प्रतिष्ठा उँचो राख्ने कार्यमा सरकारले ध्यान देओस् भन्ने हार्दिक आग्रह छ,” रमेश ढुंगेल, गौरी प्रधान, सुजीव शाक्य, डा. सरोज धिताल र कनकमणि दीक्षितले हस्ताक्षर गरेको अपिलमा भनिएको छ ।
अपिलमा ८ औं श्यामार्पा रिम्पोचेको जन्म नेपालकै हेलम्बुमा भएको, चौथो र १० औं श्यामार्पालाई काठमाडौं उपत्यकामै समाधिस्थ गरिएको पनि स्मरण गरिएको छ ।
१४ औं श्यामार्पा रिम्पोचेको मुख्य कर्मथलो नेपाल रहेको, उनले काठमाडौंमा ‘श्यार् मिन्हुन इन्स्टिच्युट’ स्थापना गरेको र नेपालको हिमाली समुदाय, काठमाडौं उपत्यका र अन्यत्र गरी उनका दशौं हजार अनुयायी रहेकाले पनि नेपालमै समाधिस्थ गरिनुपर्ने अपिलमा उल्लेख छ ।
“१४ औं अवतारी श्यामार्पा रिम्पोचेलाई नेपालमा समाधिस्थ गर्ने विषयमा भू–राजनीतिक बखेडा उठाउनु हाम्रो लागि वाञ्छनीय कुरा होइन । श्यामार्पा रिम्पोचेको अन्त्येष्टिको विषयमा नेपालको आफ्नै निर्णय हुनुपर्दछ,” विभिन्न क्षेत्रका अगुवाहरुले हस्ताक्षर गरेको अपिलमा भनिएको छ । सांस्कृतिक कुठाराघात
अपिलको पूर्ण पाठ:
श्यामार्पा रिम्पोचेको अन्त्येष्टिका सम्बन्धमा नेपाल सरकारसँग आग्रह
नागरिक अपिल
६ साउन २०७१
हिमाली काग्यु सम्प्रदायका हालै दिवंगत १४ औं अवतारी श्यामार्पा रिम्पोचेको इच्छा अनुसार उहाँको अन्त्येष्टि नेपालमै गर्ने वातावरण मिलाउन यस विषयमा सरोकार राख्ने हामी नागरिकहरू नेपाल सरकारसँग जोडदार आग्रह गर्दछौं ।
नेपालसँग अवतारी श्यामार्पा गुरुहरूको ऐतिहासिक सम्बन्ध छ । ८ औं श्यामार्पा रिम्पोचेको जन्म नेपालकै हेलम्बुमा भएको थियो भने चौथो र १० औं श्यामार्पालाई काठमाडौं उपत्यकामै समाधिस्थ गरिएको थियो ।
हालै जर्मनीमा प्राण त्याग गर्नुभएका १४ औं श्यामार्पा गुरुले भारत, भूटान र चीनको स्वशासित क्षेत्र तिब्बतमा धार्मिक–आध्यात्मिक कार्य गरेको भए पनि उहाँको मुख्य कर्मथलो नेपाल थियो । उहाँले काठमाडौंमा ‘श्यार् मिन्हुन इन्स्टिच्युट’ समेत स्थापना गर्नुभएको छ । नेपालको हिमाली समुदाय, काठमाडौं उपत्यका र अन्यत्र गरी १४ औं अवतारी श्यामार्पाका दशौं हजार अनुयायी छन् । उहाँको इच्छा आफ्नो कार्यथलो नेपालमै समाधिस्थ हुने थियो ।
१४ औं अवतारी श्यामार्पा रिम्पोचेलाई नेपालमा समाधिस्थ गर्ने विषयमा भू–राजनीतिक बखेडा उठाउनु हाम्रो लागि वाञ्छनीय कुरा होइन । श्यामार्पा रिम्पोचेको अन्त्येष्टिको विषयमा नेपालको आफ्नै निर्णय हुनुपर्दछ ।
नेपालको हिमाली क्षेत्रका नागरिक, सबै क्षेत्रका बौद्ध धर्माबलम्बी तथा आध्यात्मिक खोजमा रहेका अन्य नागरिकको भावनाप्रति संवेदनशील भई नेपाल सरकारले १४ औं अवतारी श्यामार्पा रिम्पोचेकोे पार्थिव शरीरलाई तत्कालै भारतको कालिम्पोङ्गबाट काठमाडौं ल्याई अन्त्येष्टि गर्ने वातावरण बनाओस् भन्ने हाम्रो आग्रह छ ।
स्मरणीय छ, आजभन्दा चारवर्ष अगाडि काठमाडौंमा सम्पन्न भएको ‘विश्वशान्ति महापूजा’ को बेलामा नै गुरु श्यामार्पा रिम्पोचेले सम्माननीय राष्ट्रपति, सरकारका मन्त्री र उहाँका हज्जारौं शिष्यमाझ आफ्नो मृत्युपर्यन्त नेपालकै माटोमा समाधिस्थ हुने इच्छा व्यक्त गर्नुभएको थियो ।
तसर्थ, १४ औं श्यामार्पा रिम्पोचेको अन्त्येष्टि उहाँ र उहाँका अनुयायीहरूको भावना एवम् मानवीय मूल्य र मान्यता बमोजिम नेपालमै हुने वातावरण बनाई देशको अन्तर्राष्ट्रिय छवि र प्रतिष्ठा उँचो राख्ने कार्यमा सरकारले ध्यान देओस् भन्ने हार्दिक आग्रह छ ।
सहीकर्ताः
रमेश ढुंगेल
गौरी प्रधान
सुजीव शाक्य
डा. सरोज धिताल
कनकमणि दीक्षित
