समाचारबुधबार, साउन ७, २०७१
धनुषाका ५ युवाको मानव अवशेष परिवारलाई हस्तान्तरण, ११ वर्षपछि अन्त्येष्टि
राष्ट्रिय मानवअधिकार आयोगका सचिव बेदप्रसाद भट्टराईले सशस्त्र हिंसाका बेला सुरक्षाकर्मीद्वारा हत्या गरिएका धनुषाका पाँच युवाको मानव अवशेष पीडित परिवारलाई हस्तान्तरण गरेका छन् ।
धनुषाका सञ्जीवकुमार कर्ण, दुर्गेश लाभ, जीतेन्द्र झा, प्रमोदनारायण मण्डल र शैलेन्द्र यादवको शवको अवशेष परिवारलाई हस्तान्तरण गरिएको हो ।
अवशेष हस्तान्तरण लगत्तै पीडित परिवारजन, अधिकारकर्मी र राष्ट्रिय मानव अधिकार आयोगका अधिकारीहरुले हत्याका दोषीमाथि कारबाही प्रकृया तात्कालै थाल्न सरकारसँग आग्रह गरे ।
मृतक सञ्जीवकुमार कर्णका भाई राजिव कर्णले हत्यामा दोषी देखिएकालाई आफ्नै पार्टीका नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला पुरस्कृत गरेको भन्दै आक्रोश व्यक्त गरे ।
पाँचै जनाको मानव अवशेष ७ साउनमै जनकपुर– ४ स्थित स्वर्गद्वारमा अन्त्येष्टि गरिएको छ ।
अन्त्येष्टि अघि पाँचै जनाको मानवअवशेषमा एमाओवादी, नेकपा–माओवादी र नेकपा (माओवादी) का नेताहरुले पार्टीको झण्डा ओढाएका थिए ।
एमाओवादीका कृष्णबहादुर महरा, नेकपा–माओवादीका देव गुरुङ्ग र नेकपा (माओवादी) का मातृका यादवले दोषीमाथि कारबाही गर्न सरकार समक्ष माग गरे ।
माओवादीको सशस्त्र हिंसामा सहयोग गरेको आरोपमा जनकपुर नगरपालिका १० का २४ वर्षीय सञ्जीवकुमार कर्ण, २१ वर्षीय दुर्गेश लाभ, जनपा– ४ का १९ वर्षीय जितेन्द्र झा, दुहबी–७ कर्महीका १७ वर्षीय शैलेन्द्र यादव र कुर्था–१ का १९ वर्षीय प्रमोदनारायण मण्डललाई संयुक्त सुरक्षा टोलीले पक्राउ गरेको थियो ।
आयोगले गोदार नजिक स्थानीय कमला नदी किनारमा गाडिएको अवस्थामा फेला पारेको शवको उत्खनन गरी मानव अवशेष फिनल्याण्ड पठाइएकोमा मृतकको पहिचान भएपश्चात् आफ्नो धर्म संस्कृतिअनुरुप अन्तिम संस्कारका लागि हस्तान्तरण गरेको हो ।
तल्लो गोदारमा विसं २०६७ भदौ २७ देखि असोज २ गतेसम्म उत्खनन गरिएका शवको पहिचानका लागि मारिएका व्यक्तिहरुका बाबु, आमासहित १९ जना आफन्तजनको रगतको नमुना सङ्कलन गरिएको थियो ।
उत्खनन गरिएका मानव अवशेषको परीक्षण त्रिविवि महाराजगन्ज क्याम्पस, फरेन्सिक विभागमा गरिएको थियो भने मानव अवशेषको डिएनए परीक्षण हेलन्सिकी, फिनल्यान्डमा भएको थियो ।
पाँचै जनालाई विसं २०६० आसोज २१ गते जनकपुर नगरपालिका वडा नं ४ बाट सुरक्षाकर्मीले पक्राउ गरी बेपत्ता पारेका थिए ।
इश्वरचन्द्र झा, जनकपुर
‘गोदार घटनामा संलग्नलाई कारवाही गर’

