थप समाचारबुधबार, साउन ७, २०७१
दुई बस ठोक्किँदा २१ जना घाइते
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पोर्ताहा–७ मा ७ साउनको दिउँसो दुई यात्रुबाहक बस एकआपसमा ठोक्किंदा बसमा सवार २१ यात्रु घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।
घाइतेमध्ये तेह्रथुमको गिरीखिम्ती– ५ की ५५ बर्षीया भक्तमाया पौडेल र ३० बर्षीया लक्ष्मी थापा, मोरंगका ६० बर्षीया हर्कमाया थापा, सुनसरी इनरुवा–९ का ५२ बर्षीय राममणी पोखरेल र सुनसरीकै कुसहा ७ का मोहम्द सतिशको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए ।
पाँचै जनालाई उपचारका लागि विराटनगर पु¥याइएको र बाँकीको कंचनरुप नगरपालिकास्थित धर्मेश्वर हस्पिटल ठेलियामा उपचार भइरहेको कार्कीले बताए ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.४ख ३९९२ नम्बरको पशुपति र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.३ख २१३० नम्बरको रामजानकी बस तिब्र गतिका कारण एकअर्कासँग ठोक्किएको प्रहरीको भनाई छ ।
श्रवणकुमार देव, सप्तरी
