थप समाचारबिहीबार, साउन ८, २०७१
ताइवानमा विमान दुर्घटना, ४७ को मृत्यु
ताइवानको मागोंग विमानस्थलमा आपतकालीन अवतरण गर्ने बेला विमानमा आगो लागेपछि यात्रुहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विमानमा रहेका यात्रुमध्ये ११ जनाको उद्दार गरी अस्पतालमा भर्ना गरिएको बीबीसीले उल्लेख गरेको छ ।
ट्रांसएशिया एयरवेजको ट्विन टर्बोप्रप एटिआर–७२ विमान ताइवानको दक्षिणी शहर काओशिउंगबाट पेंघु टापु तर्फ जाँदै गर्दा खराब मौषमका कारण मांगोगमा आपतकालीन अवतरण गर्न खोजेको बताइएको छ । स्थानीय समय अनुसार बुधबार साँझ ५:४५ बजे उडेको विमान त्यसको ३५ मिनटपछि दुर्घटना भएको हो ।
ताइवानको सरकारी समाचार एजेन्सीका अनुसार विमानमा ४ जना चालक दलका सदस्य र ५४ यात्रु सवार थिए । अधिकारीहरुका अनुसार तिव्र वेगको आँधी चल्न थालेपछि विमान आपतकालीन अवतरण गर्ने प्रयासमा थियो । त्यसैबेला विमानमा आगो लागेको थियो । विमान मांगोगको आवासीय क्षेत्रमा खसेको र त्यसक्षेत्रमा रहेका ५ जना व्यक्ति पनि घाइते भएको सीएनएनले जनाएको छ ।
विमान निर्माता कम्पनी एटीआरका प्रवक्ता डेविड वर्गासले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताएका छन् ।


