समाचारबिहीबार, साउन ८, २०७१
विद्युतमा कार्यकारी प्रमुख नियुक्त गरः अख्तियार
जनतालाई दैनिक सेवा प्रदान गर्नुपर्ने निकाय नेपाल विद्युत प्राधिकरण लामो समयदेखि निमित्तको भरमा सञ्चालन हुनु गलत भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल कार्यकारी निर्देशक नियुक्त गर्न सरकारलाई निर्देशन दिएको छ ।
ऊर्जा उत्पादन, प्रसारण तथा वितरणको जिम्मेवारी बहन गर्ने प्राधिकरण लामो समयसम्म नेतृत्वविहीन रहँदा अपेक्षाकृत उद्देश्य हासिल गर्न नसक्नेतर्फ आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।
तत्कालीन कार्यकारी निर्देशक रामेश्वर यादव ट्रान्सफर्मर खरिद प्रकरणमा आयोगकै छानबिनमा रहेको र ऊर्जा मन्त्रालयले प्राधिकरणमा नियुक्त गरेका सहसचिव अर्जुनकुमार कार्कीलाई पश्चिमाञ्चल क्षेत्रीय प्रशासकमा पठाएपछि उक्त पद रिक्त रहँदै आएको छ ।
हाल प्राधिकरणको नेतृत्व रामचन्द्र पाण्डेले निमित्तको अख्तियारीमा बहन गरिरहेका छन् ।
प्राधिकरणलाई यथोचित गति प्रदान गर्न कार्यकारी निर्देशक छिटोभन्दा छिटो नियुक्त गर्न आयोगको ऐन, २०४८ को दफा २८ बमोजिम मुख्य सचिव पौड्याललाई पत्र पठाइएको आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
