समाचारबिहीबार, साउन ८, २०७१
दुईसय ग्राम ब्राउनसुगरसहित दुई भारतीय पक्राउ
लागूऔषध विरुद्ध ‘अप्रेसन क्लिन’ सञ्चालन गरिरहेको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतको लागू औषध अनुसन्धान ब्यूरो, अञ्चल प्रहरी कार्यालय भेरी र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको विशेष टोलीले नेपालगञ्जको फुलटेक्राबाट २०० ग्राम ब्राउनसुगर बरामद गरेको छ ।
यो बाँकेमा एकैपटक समातिको हालसम्मकै ठूलो परिमाणको ब्राउनसुगर भएको प्रहरीले दावी गरेको छ ।
ब्राउनसुगर सहित भारत, उत्तरप्रदेश बहराइचको नानपाराका मोहम्मद ईराफ अख्तर (२४) र रुपैडिहाका बटकउ खान (२२) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।
उनीहरूका साथबाट प्रहरीले दुई थान मोबाइल सेट र भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल पनि बरामद गरेको छ ।
बरामद गरिएको लागूऔषध ब्राउनसुगरको नेपालमा बजारमूल्य रु १० लाख रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलनमार्फत ८ साउनमा सार्वजनिक गरिएको हो ।
तुफान न्यौपाने, नेपालगञ्ज
