थप समाचारशुक्रबार, साउन ९, २०७१

एयर अल्जेरीको विमान मालीमा दुर्घटनाग्रस्त, ११६ को मृत्यु

हिमालखबर

बुर्किना फासोबाट अल्जेरियाको अल्जियर्सका लागि चालक दलका सदस्यसहित ११६ यात्रु बोकेको विमान मालीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमानमा सवार सबै ११६ जनाको मृत्यु भएको छ ।

बुर्किना फासोको सेनाका अनुसार विमान बुर्किना सीमाभन्दा पचास किलोमिटर टाढा मालीमा दुर्घटनाग्रस्त भएको हो ।

उडेको ५० मिनटमा रडारसँग सम्पर्कविच्छेद भएको विमान बिहीबार २४ जुलाई स्थानीय समयअनुसार विहान ५:१० बजे अल्जियर्स पुग्नु पर्ने थियो ।

माली र बुर्किना फासोबाट  दुर्घटनास्थलतर्फ अनुसन्धान टोली पठाइएको सेनाले जनाएको छ ।
—————————————————————————————

११० यात्रु बोकेको अल्जेरी एयरको विमान दुर्घटनाग्रस्त

बुर्किना फासोबाट अल्जियर्सका लागि उडेको एयर अल्जेरीको विमान दुर्घटनामा परेको छ ।

बिहीबार , ८ साउन २०७१ ८:०४ पम

११० यात्रु र ६ जना चालक दलका सदस्य बोकेको एयर अल्जेरियाको विमान दुर्घटनामा परेको अल्जेरियन अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

अल्जेरियाली अधिकारीले विमान दुर्घटना भएको पुष्टि भएको बताए पनि थप विवरण भने नदिएको रोयटर्सले उल्लेख गरेको छ ।

बुर्किना फासोका यातायात मन्त्रीले विमानको रुटमा ठूलो आँधी चलिरहेकोले विमानलाई रुट परिवर्तन गर्न भनिएको र त्यसपछि सम्पर्क विच्छेद भएको बताएका छन् ।

अल्जेरियन नागरिक उड्डयन अधिकारीले स्थानीय टेलिभिजन ‘इन्नाहर’ लाई दिएको अन्तर्वार्तामा विमान नाइजरको आकाशबाट मालीतर्फ प्रवेश गर्दा दुर्घटना भएको बताएका छन् ।

विमानमा आधाजसो फ्रान्सेली नागरिक भएको एयरलाइनले जनाएको छ । बुर्किना फासोस्थित एयर अल्जेरीका प्रतिनिधिले विमानमा भएका सबै यात्री युरोप, मध्यपूर्व र क्यानाडा जाने ‘ट्रान्जिट प्यासेन्जर’ भएको बताएका छन् ।

यात्रुहरुमध्ये ५० जना फ्रान्सेली नागरिक, २४ जना बुर्किना फासोका, ८ लेवनानी, ४ अल्जेरियन, २ लक्जमबर्गका, बेल्जियम, स्वीटजरल्याण्ड, नाइजेरिया, क्यामरुन, युक्रेन र रोमानियाका एक एक यात्रु रहेको पत्रकार सम्मेलनमा बताए ।

तर लेबननका अधिकारीहरुले विमानमा कम्तिमा पनि १० जना आफ्ना नागरिक रहेको बताएका छन् । चालक दलका ६ सदस्यहरु स्पेनका नागरिक रहेको स्पेनी अधिकारीहरुले जनाएका छन् ।

विमानको खोजीका लागि दुईवटा फ्रेन्च फाइटर जेट खटाइएको फ्रान्सेली सेनाका प्रवक्ताले बताएका छन् ।

उक्त विमान स्पेनको स्विफ्ट एयरबाट अल्जेरी एयरलाईनले भाडामा लिएर उडाउँदै आएको थियो भने विमानको व्यवस्थापनको जिम्मा समेत स्विफ्ट एयरकै रहेको बताइएको छ । हराएको विमान एम डी–८३ भएको स्विफ्ट एयरले जनाएको छ ।

तुलनात्मक रुपमा सुरक्षा रेकर्ड राम्रो भएको स्विफ्ट एयरका विमानहरु सन् १९७७ देखि हालसम्म ५ वटा दुर्घटना भएको जसमध्ये दुईवटा दुर्घटनामा ८ जना यात्रुको मात्रै निधन भएको फ्लाइट सेफ्टी फाउण्डेशनले जनाएको छ ।

गत हप्ता मलेशिया एयरलाइन्सको विमान युक्रेनमा दुर्घटनाग्रस्त हुँदा २९८ यात्रुको मृत्यु भएको थियो भने बुधबार मात्रै ताइवानमा ट्रान्स एशिया एअरवेजको विमान दुर्घटना हुँदा ४७ यात्रुको निधन भएको थियो ।

————————————————————————————————————————–

अल्जेरियन विमान वेपत्ता

बुर्किना फासोबाट अल्जेरियाको राजधानी अल्जियर्सका लागि उडेको विमान वेपत्ता भएको छ ।

बिहीबार , ८ साउन २०७१ ४:०३ पम

अल्जेरियाको उड्डयन विभागका अधिकारिहरुले बुर्किना फासोबाट अल्जेरियाका लागि उडेको विमान सम्पर्क विहिन भएको वताएको समाचार एजेन्सी एपीले जनाएको छ ।

एएफपीका अनुसार अल्जेरियन एयरको  एएच ५०१७ कल साइनको विमान उडेको ५० मिनटमा राडारसँग सम्पर्क विच्छेद भएको थियो ।

रोयटर्सले स्पेनको स्विफ्ट एयरलाइनलाई उद्धृत गर्दै वेपत्ता विमानमा ११० जना यात्रु र ६ जना चालक दलका सदस्य रहेको बताए पनि त्यसको स्वतन्त्र पुष्टि हुन नसकेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>