थप समाचारशुक्रबार, साउन ९, २०७१

भारतीय प्रधानमन्त्री मोदी १८ साउनमा आउने

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणमा उनका भारतीय समकक्षी नरेन्द्र दामोदारदास मोदी १८ साउनमा नेपाल आउने र भ्रमणका कार्यसूचीलगायत विषयलाई ९ साउनमा बस्ने मन्त्रिपरिषद् बैठकले टुङ्गो लगाउने नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा ८ साउन साँझ भएको नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठकमा मुलुुकको समसामयिक राजनीतिक अवस्था, प्रधानमन्त्रीको अनुपस्थितिमा सरकार र पार्टीले सम्पादन गरेका कामको समीक्षाका साथै प्रधानमन्त्रीको स्वास्थ्यबारे छलफल भएको थियो ।

बैठकमा भारतीय प्रधानमन्त्रीको भ्रमणको तिथिको औपचारिक घोषणा मन्त्रिपरिषद्ले गर्ने, उनलाई जनकपुर वा लुम्बिनीको भ्रमण गराउने र भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमण, शनिबार हुने नेपाल–भारत संयुक्त आयोगको बैठकलगायत विविध विषयमा विचारविमर्श भएको जानकारी बडुले दिए ।

भारतीय प्रधानमन्त्रीको भ्रमणलाई सफल एवम् फलदायी तुल्याउन र प्रमुख राजनीतिक दलहरूबाट रायसुझाव लिन राजनीतिक दलका नेताहरूसँग छलफल हुने पनि प्रवक्ता बडूले बताए ।

यसैबीच परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास वैरागीले भारतीय प्रधानमन्त्रीको भ्रमणको कार्यसूची एवम् कार्यक्रम निर्धारण भइनसकेको जानकारी दिँदै मितिमात्र तय भएको स्पष्ट पारेका छन् ।

यसअघि सन् १९९७ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजराल र सन् २००२ मा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलनमा भागलिने सिलसिलामा प्रधानमन्त्री अटलबिहारी बाजपेयीले नेपालको भ्रमण गरेका थिए ।

प्रधानमन्त्री गुजरालपछि प्रधानमन्त्रीस्तरमा मोदीले गर्नलागेको यो पहिलो भ्रमण हुनेछ ।

हालैको संसदीय निर्वाचनमा सर्वाधिक स्थान हासिल गरेर सरकारको नेतृत्व गरेको भारतीय जनता पार्टीले नेपाललगायत छिमेकीहरूसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेको घोषणा गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>