थप समाचारशुक्रबार, साउन ९, २०७१
पत्नीलाई देहव्यापारमा लगाउने पतिलाई ११ वर्ष कैद
सिन्धुपाल्चोक साम्पालकोट–३ घर भई काठमाडौं लैनचौर बस्ने ३५ वर्षीय दीपक पण्डितलाई जिल्ला अदालत भक्तपुरका न्यायाधीश नागेन्द्रलाल कर्णको इजलासले ११ वर्ष कैद, रु ५५ हजार जरिवाना र त्यसमा थप ५० प्रतिशत क्षतिपूर्तिसहितको फैसला सुनाएको छ ।
२०५५ सालमा मागी विवाह गरेर एक छोरा र एक छोरीको आमा २७ वर्षीया पत्नीलाई पण्डितले विभिन्न स्थानमा लगेर शारीरिक तथा मानसिक यातना दिँदै जबर्जस्ती यौन धन्धामा लगाएको पुष्टि भएको अदालतका स्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिए ।
गाउँमा दुःख पाइयो भन्दै श्रीमान्ले २०६२ सालमा ४ वर्षको छोरासँगै भक्तपुरको बालकोट ल्याएका पत्नीलाई कोठामा आएपछि जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएका थिए ।
पीडित शर्मिलाका अनुसार आफू कोठाबाहिर बसेर अन्य व्यक्तिहरूसँग पैसा लिएर कोठाभित्र पठाएर जबर्जस्ती यौन धन्धा गराउने गर्दथे ।
मदिरा र जुवातासको लत लागेका श्रीमान्लाई आफू ज्यामी काम गरेरै भए पनि परिवार पाल्छुभन्दा नमानी पटकपटक बच्चा भएकै बेलामा समेत कोठामा ग्राहक खोजेर पठाउने गरेका थिए ।
उनका अनुसार आफ्नो इच्छाविपरीत अरूसँग यौन सम्बन्ध राख्न नमानेपछि कुट्ने, चुरोट र मैनबत्तीले शरीरका विभिन्न अङ्गमा पटक—पटक पोलिदिने, हँसियाले खुट्टामा काटिदिनेजस्ता यातना दिएर यौन सम्बन्ध राख्न बाध्य पार्ने गरेका थिए ।
श्रीमान् नभएको बेलामा कोठा सरेर सामाखुसी पुगेकी महिलाको डेरासमेत पत्ता लगाएपछि पण्डितले उनलाई ठमेलस्थित बेसी क्याम्प गेस्ट हाउसमा लगेर रु १० हजारमा ६ महिनासम्म वेश्यावृत्ति गर्न लगाएका थिए ।
६ महिनापछि आफँैले ठिमीस्थित कृषि विकास बैंकबाट ऋण लिएर ठमेलमै ओम युनिक बडी केयर मसाज सेन्टर खोलेर जबर्जस्ती वेश्यावृत्ति गर्न लगाई दैनिक दुई हजार ७०० भन्दा बढी कमाउन बाध्य पारेको अनुसन्धानबाट खुलेको थियो ।
पाँच सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म लिएर वेश्यावृत्तिमा लगाई शारीरिक र मानसिक यातना दिने क्रम नरोकिएपछि शर्मिलाले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि महानगरीय प्रहरी परिसर भक्तपुरले दीपकलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो ।
अदालतमा पीडक दीपकले रक्सी खाने तथा जुवातास खेल्ने बानीले श्रीमतीलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको, शारीरिक तथा मानसिक यातना दिएको स्वीकारेका थिए ।
रासस
