समाचारआइतबार, आश्विन ७, २०६९
हिम पहिरोमा ९ को मृत्यू, घाईतेको संख्या १८ पुग्यो
पहिरोमा परि मृत्यू हुने मध्ये सोलुखुम्बु खुम्जुङ ८ का अन्दाजी २९ वर्षका बाबु दोर्जे शेर्पा र जर्मनी नागरीक क्रिस पिन मिटरमिएरको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
सनाखत भएकाहरुको शब काठमाण्डौँ लगिएको छ । अन्य सात जनाको शब भने बेसक्याम्पको आधार शिविरमै रहेको छ । उनीहरुको नाम ठेगाना खुल्न सकेको छैन ।
मौसमको प्रतिकुलताका कारण बेपत्ताहरुको खोजि कार्य अहिले प्रभावित भएको छ । घाइतेमध्ये गम्भीर ५ जनाको काठमाण्डौँमा उपचार भईरहेको र अन्यको आधार शिविरमा प्राथमिक उपचार भइरहेको छ । गोरखाको उत्तरी गाविस समागाउँको वडा नम्बर ४ को सात हजार मिटर उचाईमा रहेको मनास्लु हिमालको बेस क्याम्पमा हिमपहिरो गएको हो । उद्धारका लागि आएका सिम्रिक र फिस्टेल एयरका तीन वटा हेलिकप्टरमध्ये दुई वटा हेलिकप्टरले एक एकजना मृतकको शब र अर्को एउटाले पाँच जना घाईतेलाई लिएर काठमाण्डौँ फर्किसकेको प्रहरीले जनाएको छ । शव काठमाण्डौँ लैजाने क्रममा उत्तरी क्षेत्रमा मौसम प्रतिकुल हुँदा शव लिएर गएका हेलिकप्टर फेरि घटनास्थल आउन सकेका छैनन् । प्रहरी नायव उपरिक्षक बसन्त कुँवरका अनुसार बाक्लो हुस्सुका कारण उद्धार गर्न सक्ने अवस्था नभएको र ८ असोजमा मौसम अनुकुल भएपछि मात्र थप उद्धारको काम अगाडि बढ्नेछ ।
मनास्लु बेस क्याम्पको २ र ३ नम्बरमा गएको पहिरोमा परि पर्यटकहरु बेपत्ता भएका हुन् । बिहानको १० बजेतिर खाजा खाने समयमा पहिरो गएको प्रहरीले जनाएको छ । ती पर्यटकहरु थामसेर्काे, हिमालयन गाईड, चायु, र सेभेन नामको ट्रेकिङ एजेन्सीबाट मनास्लु क्षेत्र पुगेका हुन । गोरखा सदरमुकामबाट घटनास्थल ५३ कोष टाढा रहेकाले बेपत्ता, घाईते र कति पर्यटक हिमपहिरोमा पुरिए भन्ने अझै एकिन थाहा हनु सकेको छैन ।
