समाचारशनिबार, साउन १०, २०७१
भारतीय विदेशमन्त्रीसँग मधेशका विषयमा छलफल
नेपालको औपचारिक भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भएको भेटवार्तामा सहभागी सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेशी समुदायका समस्याबारे मुख्य रुपमा छलफल भएको जनाउँदै आफूहरूले उठाएका विषयमा भारत सकारात्मक रहेको जानकारी दिए ।
हुलाकी सडक निर्माणलाई द्रुत गतिमा अघि बढाउन मधेशी नेताहरूले आग्रह गरेको उनले बताए ।
विदेशमन्त्री स्वराजले आफ्नो सरकारले नेपाललाई उच्च प्राथमिकतामा राखेकाले यहाँका विषयवस्तुबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई अवगत गराउने बाचा आफूहरुसँग गरेको अध्यक्ष झाले उल्लेख गरे ।
“मोदी सरकार विकासका मुद्दा लिएर आएको हो । नेपालको विकास हुँदा भारतको पनि विकास हुन्छ, यहाँको सामाजिक–आर्थिक उन्नयनमा आवश्यक सहयोग गर्न भारत तयार छ”, भारतीय विदेश मन्त्रीको भनाइ उद्धृत गर्दै झाले भने ।
त्यस अवसरमा स्वराजले आफ्नो मुलुकमा संसद् चालु रहेका बेला नेपाललाई प्राथमिकता दिएर शपथ ग्रहण गरेको दुई महिनापछि यहाँ आएको बताएकी थिइन् ।
—————————————————————————————————————————–
स्वराजको मधेशी नेताहरुसँग सामूहिक भेटवार्ता
भारतका विदेशमन्त्री सुष्मा स्वराज विभिन्न मधेशकेन्द्रित दलका नेताहरूसँगको भेटघाटमा व्यस्त भएकी छन् ।
९ साउन साँझ काठमाडौं आइपुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले १० साउन विहान सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, मजफो लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुर, मजफो गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, रामसपाका अध्यक्ष शरत्सिंह भण्डारी र सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झासँग भेट वार्ता गरेकी छन् ।
त्यसैगरी भेटमा तमसपा नेपालका अध्यक्ष महेन्द्र यादव, मजफो नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेश जागरण अभियानका जयप्रकाशप्रसाद गुप्ता पनि सहभागी छन् ।
भारतीय विदेशमन्त्रीसँगको सामूहिक भेटवार्तामा नेपाली कांग्रेसका अमरेशकुमार सिंह, एमाओवादीका प्रभू साह र नेकपा एमालेका शत्रुघनकुमार महतोको पनि उपस्थिति छ ।
