समाचारशनिबार, साउन १०, २०७१
विकासका लागि भारतीय सहयोग अपरिहार्यः प्रम कोइराला
नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा १० साउन साँझ भएको भेटवार्तामा प्रधानमन्त्री कोइरालाले नेपालमा शान्ति, स्थायित्व, लोकतन्त्र र विकासका लागि भारतको सहयोग आवश्यक भएको बताएका छन् ।
निर्धारित समयमा लोकतान्त्रिक एवम् समावेशी संविधान जारी हुने बताउँदै कोइरालाले यहाँको समग्र आर्थिक–सामाजिक उन्नयनका निम्ति सरकारले अघि बढाउने विकास–निर्माणका काममा सक्दो सहयोग गर्न भारतसँग आग्रह गरेकोे प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए ।
सल्लाहकार डा भट्टराईका अनुसार भारतीय विदेशमन्त्रीको भ्रमणबाट दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको र त्यसलाई प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमण अझ प्रगाढ एवम् सदृढ तुल्याउनमा आफू विश्वस्त रहेको प्रधानमन्त्री कोइरालाले बताए ।
विदेशमन्त्री स्वराजले आफू भारत र त्यहाँका जनताका तर्फबाट नेपाल र नेपालीप्रति सद्भाव र मैत्रीको सन्देश लिएर आएको बताउँदै प्रधानमन्त्री कोइरालाको स्वास्थ्यलाभको कामना गरेको जानकारी पनि डा भट्टराईले दिए ।
भेटका अवसरमा यहाँ जारी नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकबारे विचारविमर्श भए पनि विषयगत रुपमा केही कुरा नभएको उनले स्पष्ट पारे ।
प्रधानमन्त्रीको आग्रहलाई सकारात्मक रुपमा ग्रहण गर्दै भारतीय विदेशमन्त्रीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सल्लाहकार भट्टराईले जानकारी दिए ।
भेटवार्तामा भारतका विदेश सचिव सुजाथा सिंह, आर्थिक सहयोगसम्बन्धी सचिव सुजाता मेहता, नेपालका लागि भारतीय राजदूत रञ्जित रे, परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास वैरागीलगायत दुवै मुलुकका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

