थप समाचारआइतबार, साउन ११, २०७१
तालिममा रहेका ७ सैनिक फरार
सैन्य तालिम केन्द्र त्रिशूली नुवाकोटमा सैन्य दर्जाको तालिम गरिरहेका स्याङ्जाको दरौ–२ कुञ्चेबारीका जसबहादुर केसी सम्पर्कविहीन भएपछि परिवार चिन्तित भएको छ ।
सिन्धुपाल्चोकबाट छनोट भएर २ जेठदेखि तालिम शुरु गरेका केसी ९ असारमा भागेको भनी तालिम केन्द्रले जनाए पनि अहिलेसम्म सम्पर्कमा नआएको उनका बुबा मनबहादुर केसीले बताए ।
१० असारमा तालिम केन्द्रले जसबहादुर भागेको भनेर घरमा जानकारी गराएको एक महिना भएपनि सम्पर्कमा नआउँदा परिवार नै चिन्तामा डुबेको केसीले बताएका छन् ।
तालिम केन्द्र त्रिशूलीले पनि सैन्य तालिम गर्दै आएका जसबहादुर ९ असारे बिहानदेखि सम्पर्कमा नरहेको जनाएको छ ।
२ जेठदेखि शुरु भएको तालिमबाट १० साउनसम्ममा ७ जना फरार भइसकेका छन् । तालिम लिइरहेका एक महिला सैनिक १० साउन बिहान फरार भएसँगै तालिमबाट भाग्नेको सङ्ख्या सात पुगेको केन्द्रले जनाएको छ ।
एक महिला सैनिक उज्यालो हुनुअघि नै छावनीबाट भागेको भन्दै केन्द्रले भाग्नेको घरमा सूचना दिई खोजीकार्य जारी रहेको जनाएको छ ।
तालिम गर्न आएकाहरु यसअघिका समूहका भन्दा अहिलेका बढी सङ्ख्यामा भाग्न थालेपछि तालिम केन्द्रले केन्द्रमा तारबारलाई बाक्लो बनाउँदै तीन घेराको बनाएको छ ।
केन्द्रले आफ्नो आधार इलाकाभित्र विद्युतीय र काँडे गरी तीन तहको बार लगाए पनि भाग्नेको सङ्ख्याले भने निरन्तरता पाएको छ ।
सैन्य नियमअनुसार तालिमको क्रममा भागेर ३० दिनभन्दा बढी समय सम्पर्कविहीन भएमा पदबाट निष्कासित हुने प्रावधान रहेको छ । २८ दिनसम्म भने सेना र प्रहरीले खोजी गरेर भए पनि पुनः तालिममा सहभागी गराउने गर्दछ ।
रासस
