थप समाचारबुधबार, साउन १४, २०७१
बढ्दो सम्बन्धविच्छेद
अर्घाखाँचीमा आर्थिक वर्ष २०७०/०७१ मा ६७ दम्पतीले सम्बन्धविच्छेद गरेका छन् ।
गत आवमा जिल्ला अदालतमा जम्मा २५१ मुद्दा दर्ता भएकोमा ७८ वटा (३१ प्रतिशत) मुद्दा सम्बन्धविच्छेदका थिए जसमध्ये ६७ वटा फैसला भइसकेको जिल्ला अदालतका श्रेस्तेदार मानबहादुर बस्नेतले जानकारी दिए ।
सम्बन्धविच्छेद गर्नेमा अधिकांश १९ देखि ३० बर्ष उमेर समूहका छन् । त्यसमध्ये पनि २५ वर्ष मुनीका जोडीको संख्या अधिक छ । ३० बर्ष माथीका ५ जोडीले मात्र सम्बन्धविच्छेद गरेका छन् ।
सम्बन्धविच्छेदका मुद्दाहरुमध्ये अधिकांशजसोमा श्रीमानले विभिन्न विषयमा शंका गरी कुटपिट गर्ने, खानलाउन नदिने जस्ता कारण उल्लेख गरिएको पाइएको छ ।
तर, रोजगारीका लागि श्रीमान विदेशिंदा आउने जटिलता नै सम्बन्धविच्छेदको मुख्य कारण रहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिपेन्द्र जिसी बताउँछन् ।
सूचना प्रबिधिमा नयाँ पुस्ताको पहुँच, समाजमा बढ्दो खुल्ला यौन गतिविधि, न्यायमा पहुँचले गर्दा सम्बन्धविच्छेदका घटना ह्वात्तै बढेको सहायक प्रमुख जिल्ला अधिकारी भेसराज खनालको भनाई छ । उनी पनि सम्बन्धविच्छेदका प्रमुख कारणमध्ये बैदेशिक रोजगारलाई प्रमुख मान्छन् ।
केटा र केटी बीच विहेअघि चिनजान नहुनु, इच्छाविपरित विवाह हुनु जस्ता कारणले पनि सम्बन्धविच्छेद हुने गरेको सञ्चारकर्मी रामकुमार बिष्टको भनाई छ ।
सामाजिक कार्यकर्ता समेत रहेका बिष्टका अनुसार सामान्य विवादलाई ब्यवस्थापन गर्न नसक्दा ठूलो कलह बन्नु, आफ्नो हैसियत विर्सेर अरुको नक्कल गर्न खोज्नु, शिक्षा, रोजगार नहुनुसँगै समाजमा आएको खुल्लापनले पनि सम्बन्धविच्छेदका घटना बढाएको छ ।
“अघिल्लो पुस्ताको कडा परम्परावादी धारणा र नयाँ पुस्ताको खुल्ला विचार र अती महत्वाकांक्षी स्वभावले गर्दा घरमै पनि सम्बन्ध ब्यवस्थापनका नयाँ आयाम खोज्नु पर्ने बेला आएको छ,” विष्टले भने ।
प्रेमनारायण आचार्य, अर्घाखाँची
यो पनि टुट्दै सम्बन्ध
