समाचारबुधबार, साउन १४, २०७१

१० हजार क्षयरोगीको गाउँगाउँमा खोजी

हिमालखबर

राष्ट्रिय क्षयरोग केन्द्र थिमीले सम्पर्क बाहिर रहेका अर्थात् पहिचान हुन नसकेका क्षयरोगका बिरामीको खोजी शुरु गरेको हो । सम्पर्कमा नआएर हराएका तथा नयाँ क्षयरोगीको पहिचान गर्न केन्द्रले क्षयरोग पत्ता लगाउने माइक्रोस्कोप मेशिन बोकेर गाउँगाउँमा कर्मचारी पठाएको केन्द्रका निर्देशक डा. राजेन्द्र पन्तले जानकारी दिए ।

सुगमभन्दा पनि दुर्गम जिल्लाका गाउँगाउँमा पुगेर क्षयरोगीको खोजी थालेको निर्देशक पन्तको भनाइ छ । उनले भने, “केन्द्रले क्षयरोग पत्ता लगाउने माइक्रोस्कोप मेशिन बोकेर गाउँगाउँ जाने अभियान शुरु गरेको छ, यसबाट हराएका पुराना बिरामी र नयाँ क्षयरोगका बिरामीको समेत पहिचान हुनेछ ।”

केन्द्रले जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत् जिल्ला–जिल्लामा माइक्रोस्कोप मेशिन लगेर दुईसातादेखि लगातार खोकी लागेको, खकारमा रगत देखिएको, खान मन नलाग्ने जस्ता क्षयरोगका शङ्कास्पद बिरामीको खकार परीक्षण गरी क्षयरोगीको पहिचान गर्न शुरु गरेको हो ।

यसका लागि केन्द्रले ५५४ वटा सेन्टर मार्फत् खकार परीक्षण गरेको ९० मिनेटभित्र रिपोर्ट आउने र क्षयरोग भए नभएको पत्ता लगाएर क्षयरोगको पहिचान गर्ने गरी टोली परिचालन गरेको उनले बताए । केन्द्रले यसका लागि गाउँगाउँमा आमा समूहलाई समेत परिचालन गर्ने भएको छ ।

“यो अभियानमा आमा समूहलाई समेत परिचालन गरेर गाउँमा शङ्कास्पद क्षयरोगी भएमा त्यसको खोजी गरिने र घरका कुनै सदस्यलाई क्षयरोग भएको छ वा क्षयरोगको शङ्कास्पद व्यक्ति छन् भने पहिचान गराएर उपचारमा शुरु गर्ने गरी कार्य थालनी भएको छ,” निर्देशक पन्तले भने ।

तत्कालै क्षयरोग भए नभएको पहिचान गर्ने उपकरण (जिन एक्सपट मेशिन) अहिले देशका विभिन्न २२ ठाउँमा राखिएको र तत्कालै थप सात स्थानमा वितरण गर्न लागेको उनले जानकारी दिए । विगतमा क्षयरोग भए नभएको पत्ता लगाउन बिहान, दिउँसो र बेलुकाको तीनपटक खकार परीक्षण गर्नुपर्ने भएपनि अहिले यो मेशिनबाट बिहान र दिउँसो दुईपटक मात्र खकार परीक्षण गर्दा नै पत्ता लाग्ने भएको छ ।

नेपालमा अहिले ४५ हजार क्षयरोगी रहेको अनुमान गरेपनि ३६ हजार क्षयरोगीको उपचार भइरहेको र बाँकीको पहिचान हुन सकेको छैन । त्यसैको खोजी र नयाँ क्षयरोगीको खोजीमा केन्द्र जुटेको हो ।

सरकारले जटिल खालका ३८० जना क्षयरोगका बिरामीलाई मासिक रु.१ हजार ५०० भत्ता दिएर उपचार गरिरहेको छ । पुनः बल्झिएर आउने क्षयरोगीलाई मासिक रु.५०० भत्ता दिएर उपचार गरिरहेको छ ।

त्यस्तै, एचआइभी एड्स भएका ७०० क्षयरोगीको उपचार भइरहेको छ भने प्रत्येक क्षयरोगका बिरामीलाई एचआइभी परीक्षण गर्ने गरेको छ ।

यो पनि पढ्नुहोसः क्षयरोगको सन्त्रास

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>