समाचारबिहीबार, साउन १५, २०७१
लेखा समितिमा एमाओवादीका शर्मा निर्विरोध
व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमाओवादीका तर्फबाट सभासद जनार्दन शर्माको उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुने भएका छन् । समितिको सभापतिमा उम्मेदवारीका लागि १५ साउन साँझ ५ बजेसम्मका लागि समय तोकिएकोमा अन्य कसैले उम्मेदवारी दिएनन् ।
१६ साउन बिहान ११ बजे संसद् सचिवालय सिंहदरबारमा निर्वाचनका लागि समय तोकिएको सचिवालयले जनाएको छ ।
शर्माको प्रस्तावकमा समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह र समर्थकमा एमाओवादीका डोरप्रसाद उपाध्याय छन् ।
लामो समयदेखि संसद् अन्तर्गतका विभिन्न समिति सभापतिविहीन भएपछि सभामुख सुवासचन्द्र नेम्वाङले लेखा समितिको सभापतिको निर्वाचन गर्न निर्देश दिएका थिए ।
सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलको सभासद हुने प्रचलन अनुसार नेपाली कांग्रेस र नेकपा एमालेबाट उम्मेदवारी नपरेको हो ।
