समाचारशुक्रबार, साउन १६, २०७१
मोदीका लागि भारतबाटै तीनवटा बुलेटप्रुफ गाडी
नरेन्द्र मोदीका लागि १५ साउनमै तीनवटा बुलेटप्रुफ गाडिसहित ३० जना भारतीय अधिकारी काठमाडौं आइपुगेको खबर नयाँ पत्रिका दैनिकमा छ ।
विशेष विमानबाट बिहीबार बिहान बुलेट प्रुफ गाडी काठमाडौं ल्याइएको हो । ती गाडीमा वरिपरि मोबाइल नेटवर्कसमेत नलाग्ने जामर प्रविधिसमेत जडान रहेको स्रोतले जनाएको छ ।
बमसमेत प्रतिरोध गर्ने ती गाडी लैनचारस्थित भारतीय दूतावासमा राखिएको छ ।
सादा पोसाकमा खटिने केही सुरक्षा अधिकारीसमेत काठमाडौं आइपुगेको सुरक्षा स्रोतले जनाएको छ ।
नेपाल सरकारले पनि उच्च किसिमको सुरक्षा प्रबन्ध मिलाएको छ ।
गृह मन्त्रालयको शान्ति(सुरक्षा महाशाखाका प्रमुख सहसचिव लक्ष्मीप्रसाद ढकालको संयोजकत्वमा सरकारले मोदीको सुरक्षाका लागि एक टोली गठन गरिसकेको छ ।
जसमा नेपाल प्रहरीका डिआईजी केदार साउद, नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारी छन् ।
सो समितिले १४ साउनमा बैठक बसी सुरक्षा प्रबन्धबारे छलफल गरेको थियो ।
६ तहको सुरक्षा घेरा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुई दिने नेपाल भ्रमणका क्रममा ६ तहको सुरक्षा दिइने भएको छ।
पहिलो घेरामा भारतबाटै आउने मोदीका ब्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) सँगै नेपाली सेना र नेपाल प्रहरीका पिएसओ खटाइने तयारी गरेको स्रोतलाई उदृत गर्दै आजको नागरिक दैनिकमा खबर छापिएको छ।
पिएसओको सुरक्षा घेरा बाहिर स्पेशल प्रोटेक्सन ग्रुप र एनएसजी ब्ल्याक कमान्डोको टोली रहनेछ।
त्यसपछि तेस्रो तहको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइने छ। विश्वस्त स्रोतका अनुसार नेपाली सेनाको सुरक्षा घेराबाहिर प्रहरी र त्यसभन्दा बाहिर सशस्त्र प्रहरीको घेरा रहनेछ।
यी सबै घेरा बाहिर नेपाली सुरक्षा संगठनका गुप्तचरसँगै भारतीय खुफिया एजेन्सीका सदस्यहरूसमेत परिचालित हुनेछन्।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले मोदीको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारी खट्ने जानकारी दिए।
उनका अनुसार तीनै सुरक्षा संगठनले मोदीको व्यक्तिगत, निवास र सवारी आवागमनको बेला कारकेडको सुरक्षा सम्हाल्नेछन्।
