समाचारशनिबार, साउन १७, २०७१

मोदी भ्रमणको तयारी पूरा, ‘रिहर्सल’ गरियो

हिमालखबर

१८ साउन विहान विशेष विमानबाट काठमाडौं विमानस्थलमा अवतरण गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री सुशील कोइरालाले स्वागत गर्दै छन् ।

यहाँ रहँदा भारतीय प्रधानमन्त्रीले राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री कोइराला, सभामुख सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा उद्योगपति एवम् व्यापारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

१८ साउन अपराह्न नै दुवै देशका प्रतिनिधिमण्डलबीच प्रधानमन्त्री तहमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा वार्ता हुनेछ । भने अपराह्न ४:२५ बजे प्रधानमन्त्री मोदीले व्यवस्थापिका–संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री कोइरालाले सोही दिन भारतीय प्रधानमन्त्रीको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।

भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउन सरकारले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।

प्रधानमन्त्री नेतृत्वको भारतीय प्रतिनिधिमण्डलमा ७० देखि ७५ जना अधिकारी सामेल हुने र द्विपक्षीय वार्तामा दुवै देशका २५ देखि २७ जना वरिष्ठ अधिकृत सहभागी हुने बताइएको छ । प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार, विभिन्न मन्त्रालयका सचिव एवम् सहसचिव रहनेछन् ।

काठमाडौंमा रिहर्सल

भारतीय प्रधानमन्त्री मोदी आउनु एक दिन अघि १७ साउन दिउँसो त्रिभुवन विमानस्थलदेखि गौशाला, चावहिल बौद्ध र महाराजगञ्ज लगायतका क्षेत्रमा करिव ३ घण्टा यातायात अवरुद्ध पारेर मोदी यात्राको पूर्वाभ्यास (रिहर्सल) गरिएको छ ।

एयरपोर्टदेखि मोदी बस्ने बौद्धस्थित ह्यात होटलसम्म र मोदी जाने अन्य महत्वपूर्णमा ‘मोदी सवारी’ को नक्कली कारकेट चलाइएको थियो भने सेनाले हेलिकप्टरबाट सुरक्षा दिएर पूर्वाभ्यास गरेको थियो ।

सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित थिए ।

रिहर्सलमा भारतीय सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो भने मोदी चढ्ने कारको सुरक्षा समेत भारतीय सुरक्षाकर्मीहरुले नै गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>