समाचारशनिबार, साउन १७, २०७१
नेपालसँग व्यक्तिगत भावना जोडिएको छः मोदी
नेपाल र भारतबीचको मित्रता ‘टाइम टेस्टेड’ भएको र दुवै देशका संस्कृति र सम्पदा साझा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।
मोदीले समाजिक सञ्जालमा ट्विटरमा लेखेका छन्, “मलाई साउनको सोमबार भगवान पशुपतिनाथको दर्शन गर्ने सौभाग्य प्राप्त हुनेछ ।”
उनले नेपाली नेता र सांसदहरुसँगको छलफल फलदायी हुने र त्यसले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइँमा पु¥याउने सामाजिक सञ्जालमा ट्विट गरेका छन् ।
व्यक्तिगत भावना
आफूले परिवारका सदस्य जस्तै गरी पालेका नेपाली युवा जीतबहादुर तर्फ लक्षित गर्दै मोदीले धेरै वर्ष अगाडि एउटा सानो बालक असहाय अवस्थामा आफूले भेटेको उल्लेख गरेका छन् ।
“नेपालको यो यात्रासँग मेरा केही व्यक्तिगत भावनाहरु पनि जोडिएका छन्,” ट्विटरमा मोदीले भनेका छन्, “जीतबहादुर असाहय अवस्थामा भेटियो, उसलाई कहाँ जाने, के गर्ने केही थाहा थिएन । उसले कसैलाई चिन्दैनथ्यो । भाषा पनि राम्रोसँग बुझ्दैनथ्यो ।”
इश्वरको प्रेरणाले गर्दा आफूले उक्त बालकप्रति चिन्ता लिएको र उसले पनि विस्तारै पढाई र खेलमा रुचि देखाउन थालेको र गुजराती भाषा सिकेको मोदीले बताएका छन् ।
जीतबहादुरको एउटा खुट्टामा ६ ओटा औंला भएकाले पनि उसका बाबु–आमासँग भेटाइदिन सजिलो भएको भन्दै उनले आफूले जीतबहादुरको परिवारसँग पुनर्मिलन गराइदिएको प्रसँग स्मरण गरेका छन् ।
“मलाई खुशी लागेको छ, म आफैले भोली उनीहरुलाई उनका छोरा सुम्पने छु,” मोदीले ट्विट गरेका छन् ।
नवलपरासीको कावासोती–१ का जीतबहादुर सारु मगर १० वर्षको छँदा आफ्ना दाजुसँगै रोजगारीका लागि भारत गएका थिए । त्यसबेला दाजु नेपाल फर्किए पनि उनी भने दिल्लीमै घरेलु कामदार भएर बसेका थिए ।
तर काम गर्ने ठाउँ फेर्दै जाँदा उनी राजस्थान, मुम्बइ हुँदै गुजारतको अहमदावादसम्म भौतारिएका थिए ।
त्यसैक्रममा मोदीसँग भेट भएपछि मोदीले उनको लालन पालन र शिक्षाको बन्दोबस्त गरे ।
मोदीले घरको सदस्य जस्तै ब्यवहार गर्ने २७ वर्षे जीतबहादुर अहिले स्नातक अन्तिम वर्षमा गुजरातमै पढ्दैछन् । मोदीको नेपाल भ्रमण टोलीमा सहभागी भएका उनले काठमाडौंमै आफ्ना परिवारलाई भेट्ने कार्यक्रम तय भएको छ ।

