समाचारआइतबार, साउन १८, २०७१

हिन्दूवादी–राजावादी निराश

हिमालखबर

भारतमा भाजपाको बहुमत आएर मोदी प्रधानमन्त्री बन्नासाथ नेपालमा मोदी र उनको दलको हिन्दुत्ववादी छविले केहीलाई उत्साहित बनाएको थियो । २०६२/६३ को आन्दोलनपछि धर्मनिरपेक्ष बनेको नेपाललाई हिन्दूराष्ट्रमा फर्काउनुपर्ने आकांक्षा राख्ने हिन्दूवादी र त्यसकै आडमा आफ्नो पुनरुत्थानको सम्भावना देख्न थालेका राजावादीहरू त्यसरी उत्साहित हुनेमा थिए । तर, मोदीको भ्रमणअघि विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएपछि भने उनीहरू निराश बन्न पुगे ।

तस्वीरः बिक्रम राई

नेपाल–भारत मैत्री समाजले आयोजना गरेको कार्यक्रममा समाजका अध्यक्ष प्रेम लस्करीले नेपाललाई हिन्दू राष्ट्र बनाउन आग्रह गर्दा स्वराजले बीचमै रोकेर भनिन्, “म धर्मनिरपेक्ष भारतको संविधान अन्तर्गत शपथ लिएको व्यक्ति हुँ, मेरो धर्म पनि त्यही हो ।”

कट्टर हिन्दूवादीको पहिचान बनाएका मोदी नेपाल आउँदा हिन्दूवादी र राजावादीहरूलाई कुनै ढाडस दिने छैनन् भन्ने पूर्व संकेत पनि हो, स्वराजको त्यो भनाइ । जसले ‘गुजरात दंगा’बाट संसारभर बदनामीको अपजस भोगिरहेका मोदी त्यो पहिचानबाट बाहिर निस्केको र आर्थिक विकासको सूचक बनेको ‘गुजरात मोडल’लाई पहिचान बनाउन अग्रसर भएको देखाउँछ ।

धार्मिक र सांस्कृतिक पृष्ठभूमि दह्रो भए पनि सम्भवतः पशुपतिनाथमा विशेष पूजाआजा गर्दा बाहेक उनले त्यसलाई प्रकट गर्ने छैनन् । यद्यपि, मोदी भ्रमणका क्रममा भारतले पशुपतिनाथमा करीब रु.५ अर्बजतिको आर्थिक सहयोगको घोषणा गर्नेछ ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टण्डनका अनुसार, विदेशमन्त्रीस्तरीय पछिल्लो वार्तामा तीन महीनाभित्र पशुपतिमा नेपाल–भारत मैत्री धर्मशाला निर्माण शुरू गर्ने, मन्दिर परिसरलाई छुट्टै नगद अनुदान दिने र पशुपति क्षेत्रको संयुक्त गुरुयोजनाका निम्ति भारतले सहयोग दिने कुरा भएको छ । टण्डन भन्छन्, “संस्कृति मन्त्रालयले रु.५ अर्बसम्मका परियोजनाको प्रारुप मागेको थियो, हामीले त्यो बुझाइसकेका छौं ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>