समाचारआइतबार, साउन १८, २०७१
२७ घाइतेको उद्धार, १५५ जना अझै वेपत्ता
सिन्धुपाल्चोकमा पहिरो गईथुनिएको सुनकोशी नदीदेखि तल्लो तटीय क्षेत्रका नदीको दायाँबायाँ बसोबास गर्ने व्यक्ति तथा परिवारहरुलाई सम्भावित घटनालाईध्यानमा राखी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य भइसकेको र उनीहरुका लागि आवश्यक अस्थायी बास र खानाको प्रबन्ध मिलाइएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेछ ।
सिन्धुपाल्चोकको इटानीमा गएको पहिरोबाट हालसम्म १० जनाको निधन भएको र २७ जना घाइतेमध्ये गम्भीर रुपमा १६ जनालाई हेलिकोप्टरबाट र अन्यलाई एम्बुलेन्सबाट थप उपचारका लागि काठमाडौँ ल्याइएको जानकारी गराएको छ ।
हालसम्म प्राप्त सूचनाका आधारमा १५५ जना हराइरहेका र घटनास्थलमा पानीको वहाव थप खुलाउने कार्यका साथै हराइरहेकाहरुको खोज तथा उद्धार कार्य सँगसँगै अगाडि बढीरहेको मन्त्रालयले उल्लेख गरेको छ ।
प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार र राहत कार्यका बारेमा जानकारी लिन र तत्काल गर्नुपर्ने कार्यका सम्बन्धमा आवश्यक निर्देशनको लागि आजै उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमको नेतृत्वमा सिँचाइ मन्त्री, सभासद् र विज्ञ समेतको टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ ।
गृहमन्त्री गौतमले प्रभावित क्षेत्रमा हुनसक्ने थप जनधनको क्षति रोक्न तथा पानीको वहाव खुलाउन अपनाउनुपर्ने यथासम्भव उपायहरुको बारेमा सुरक्षा निकायका पदाधिकारी, विज्ञ तथा स्थानीयसँग छलफल गरेका छन् ।
उजले स्थानीय प्रशासनलाई नदीको तटीय क्षेत्रमा जोखिममा रहेका व्यक्ति तथा परिवारलाई सुरक्षित स्थानमा सार्न, उनीहरुलाई सुरक्षित स्थानमा बस्ने तथा खाने व्यवस्था मिलाउनुका साथै सडक विद्युत् खानेपानीलगायतका आधारभूत पूर्वाधारहरु सम्भव भएसम्म तत्काल मर्मत सम्भार गरी सेवा सूचारु गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको विज्ञप्तिमा जनाइएको छ ।
