समाचारबुधबार, साउन २१, २०७१
अफगानिस्तानमा अमेरिकी मेजर जनरलको हत्या
अफगानिस्तानको काबुलस्थित मार्शल फहिम नेशनल डिफेन्स युनिभर्सटीमा एक अफगानी सैनिकले २० साउनमा अमेरिकी सेनाका मेजर जनरल ह्यारोल्ड ग्रिनको गोली हानी हत्या गरेको रोयटर्सले जनाएको छ । ह्यारोल्ड भियतनाम युद्धपछि विदेशी भूमीमा मारिएका अमेरिकी सेनाका उच्च अधिकारी हुन् ।
रोयटर्सका अनुसार अमेरिकी, जर्मन र अफगान अधिकारीहरुले हत्यको पुष्टि गरेका छन् ।
“डिफेन्स युनिभर्सिटीमा नियमित अनुगमनका लागि गएका संयुक्त सेनाका धेरै जना गम्भीर घाइते भएका छन्,” अमेरिकी रक्षामन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मसिनगनबाट गोली चलाउने अफगान सेनाको पोशाक लगाएको हत्यारा पनि घटनास्थलमै मारिएको छ ।”
अमेरिकी अधिकारीहरुले बन्दुकधारीले लाइट मेसिनगनले विदेशी सैन्य अधिकारीमाथि गोली चलाएको बताएका छन् । अफगान रक्षा मन्त्रालयले गोली हान्ने जवानलाई ‘सैनिकको पोषाक लगाएको आतंककारी’ भनेको छ ।
जर्मन सेनाका अनुसार अफगानिस्तानमा कार्यरत उसका सैन्य जनरल गम्भीर घाइते भए पनि खतराभन्दा बाहिर छन् । त्यसैगरी ७ अमेरिकी र ५ बेलायती सैनिक पनि घाइते भएको बताइएको छ ।
संयुक्त सेनाले यो वर्षको अन्त्यमा अफगानिस्तान छोड्ने भएपछि अफगानिस्तानको सेनालाई उक्त युनिभर्सिटी (तालिम केन्द्र) मा सघन तालिम दिइरहेको छ ।
घटनाबारे अफगानिस्तान र अमेरिकाका अधिकारीहरुको संयुक्त टोलीले अनुसन्धान गरिरहेकोे छ ।
उक्त घटना कुनै असमझदारी वा आन्तरिक विवादका कारण भएको हुनसक्ने संयुक्त सेनाले जनाएको रोयटर्सले उल्लेख गरेको छ ।
अमेरिकी सेनाले आफ्ना उच्च अधिकारीलाई नै लक्ष्य गरेर गोली चलाइएको थियो वा थिएन भन्ने बारे अझै एकिन हुन नसकेको जनाएको छ ।
