समाचारबुधबार, साउन २१, २०७१
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति पनि निलम्बनमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिामञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डाक्टर पदमलाल देवकोटा, सेवा आयोगका अध्यक्ष प्रा. डा. नवराज कडेल, सेवा आयोगका सदस्य प्रा.डा.श्रीरामप्रसाद उपाध्याय र रजिष्ट्रार डा. ठकेन्द्र प्रकाश गिरीलाई निलम्बन गरी अनुसन्धानका लागि अख्तियारमा उपस्थित गराउन विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्रीको कार्यालयमा पत्राचार गरेको छ ।
विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण, खरिद प्रक्रिया, शिक्षक तथा कर्मचारी नियुक्ति र कोर्ष सञ्चालनसमेतमा आर्थिक अनियमितता तथा भ्रष्ट्राचार गरेको भएको ठहर गर्दै अख्तियारले उनीहरूलाई निलम्बन गरेको जनाएको छ ।
साथै मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७ ले घाषणा गरेको उद्देश्य अनुरुपका काम कारवाही सुचारु रुपमा संचालन गर्न, दैनिक प्रशासनको सु–व्यवस्था मिलाउन, विद्यार्थीहरुको अध्ययन अध्यापन तथा परीक्षा सम्वन्धी निर्धारित कार्यक्रममा कुनै पनि प्रकारको असर नपर्ने गरी संचालनको व्यवस्था अविलम्व मिलाउन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री कार्यालायलाई निर्देशन दिएको छ ।
एक दिनअघिमात्रै अख्तियारले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पाँच संकायका डीन सहित १४ जना कर्मचारीलाई निलम्वन गर्न निर्देशन दिएको थियो ।
तुफान न्यौपाने, नेपालगञ्ज
यो पनि
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा भ्रष्टाचार भएको अख्तियारको ठहर
