समाचारबुधबार, साउन २१, २०७१
दिनेश अधिकारी ‘चरी’ मुठभेडमा मारिए (अपडेट)
चरी नामले चिनिने आपराधिक गतिविधिमा संलग्न दिनेश अधिकारी २१ साउन अपराह्न काठमाडौंको भीमढुंगामा प्रहरीको गोलीबाट मारिएका छन् । मोटरसाइकलमा एक्लै धादिङतर्फ जाँदै गरेका उनी काठमाडौं र धादिङ्को सीमामा पर्ने भीमढुंगा-६, नर्सरी भञ्ज्याङको जंगलमा मारिएको प्रहरीले जनाएको छ ।
चरीलाई पिछा गरिरहेको महानगरीय प्रहरी अपराध महाशाखाका डिएसपी मिरा चौधरीको कमाण्डमा खटिएको टोलीमाथि उनले गोली प्रहार गरेपछि जवाफी कार्वाहीमा चरी मारिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल र एक थान गोली बाँकी रहेको ८ थान गोली लाग्ने म्यग्जिन साथै एउटा मोटरसाइकल बरामद गरेको छ ।
उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको घटनास्थलमा पुगेकी हाम्रा सहकर्मी देवकी बिष्टले जानकारी दिएकी छन् । सञ्चारकर्मी पुग्दा घटनास्थललाई प्रहरीले घेरेर राखेको थियो भने उनका अाफन्त र स्थानीयहरुको ठूलो भीड जम्मा भएको थियो । चरीको शरीरमा ५/६ वटा गोली लागेको दाग देखिएको पनि बिष्टले जानकारी दिएकी छन् ।
नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का पूर्व क्षेत्रीय उपाध्यक्षसमेत रहेका चरी खाग तस्करी, जबरजस्ती असुली, हत्यालगायतका अपराधमा सक्रिय रहेको प्रहरीले जनाएको छ ।
काठमाडौंको सोह्रखुट्टेमा १४ पुस २०७० मा अर्का ‘गुण्डा’ राधे भण्डारीमाथि तरबार प्रहार गरेपछि चरी फरार रहेका थिए । सिंगापुर र भारतमा बस्दै आएका उनी केही दिनअघि काठमाडौं पसेको थाहा पाएपछि प्रहरीले उनको पिछा गरिरहेको थियो ।
चरी पूर्व मिस टिन एवम् मोडल खुश्वु ओलीसँग ‘अफेयर मा थिए । चरीले चढ्ने गरेको बा १० च ५९९३ नम्बरको गाडी ओलीको ललितपुर धापाखेलस्थित घरबाट प्रहरीले ९ माघ २०७० मा बरामद गरेको थियो ।
करीब रु।९० लाख बराबरको सोही गाडी चढेर धादिङबाट काठमाडौं आउँदा ‘चरी’ माथि २२ असार २०७० मा राधे भण्डारीको समूहले नैकापमा गोली प्रहार गरेको थियो ।
आफूमाथि भएको आक्रमणको बदला लिन १४ पुसमा उनले राधे माथि आक्रमण गराएका थिए ।
त्यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बालाजुस्थित लजबाट २४ असार २०६८ मा चरीलाई गैंडाको खाग तस्करीको आरोपमा पक्राउ गरे पनि राजनीतिक दबाबका कारण उनी छुटेका थिए ।
त्यसैगरी १३ वैशाख २०६८ मा विभिन्न ब्यापारीसँग असुली गरेको रु २१ लाखको चेक र हतियारसहित थानकोटबाट पक्राउ पर्दा पनि उनी छुट्न सफल भएका थिए ।
मोडल खुश्बुको घरमा ‘चरी’ को गाडी

