थप समाचारशुक्रबार, साउन २३, २०७१
आधुनिक जनकपुरको चिनारीः गंगासागर आरती
“यहाँ कालो पानी थियो, अब निर्मल भयो”, जनकपुरका सामाजिक अभियन्ता रामाशिष यादव भन्छन्। हुन पनि जनकपुर शहरको केन्द्रमा अवस्थित सांस्कृतिक धरोहर गंगासागरको कायाकल्प भएको छ। शहरी फोहोरदेखि अस्पतालसम्मको लागि ‘डम्पिङ साइट’ भएको यो ऐतिहासिक तलाउ आज रमणीय थलो बनेको छ।
सांस्कृतिक, धार्मिक तथा वातावरणीय काम एकसाथ गर्दा सफलता प्राप्त हुँदोरहेछ भन्ने प्रमाण हो– गंगासागरको सफाइ। ११ फागुन २०७० मा अभियान शुरू भयो, र तीन महीना लगाएर टनका टन फोहोर निकालियो। स्थानीय व्यवसायी, अधिकारकर्मी, पत्रकारहरूले थालेको त्यो काममा धनुषामा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अफिसर जवानहरूले सशक्त साथ दिए।
पूरै फोहोर हटाएपछि सफाइलाई निरन्तरता दिन ‘गंगा आरती जल संरक्षण’ अभियान जन्माए, अभियन्ताहरूले। “यता वागमती सफाइ भइरहेछ, उता गंगा सफाइको कुरा भइरहेछ, हामीलाई लाग्यो हरिद्वार, बनारसमा जस्तै यहाँ आरती आयोजना गर्ने हो भने संस्कृति विस्तार र वातावरण संरक्षण एकैचोटि हुन जान्छ, र गंगासागर सदा स्वच्छ रहनेछ”, रामाशिष भन्छन्।
बनारसबाट एक पुजारी झिकाएर स्थानीय पुजारीलाई सिकाउने काम भयो र २५ जेठबाट बेलुकी ७ बजे नियमित पूजा–आरती शुरू भयो, दशौं हजार धनुषावासीको सहभागितामा। प्रसिद्ध मैथिली गायक सुनिलकुमार मलिकको संयोजन र स्वरमा भजन–प्रार्थना गुञ्जियो तलाउको एक कुनादेखि अर्को कुनासम्म। दुई जना पुजारीबाट आरती चढाइयो। अनि आधुनिक जनकपुरको सांस्कृतिक चिनारी नै बन्न पुग्यो, गंगासागर आरती।
आरतीको लागि राखिएको दानपेटीमा मासिक सरदर रु.५० हजार उठ्छ भने खर्च करीब रु.६५ हजार बराबरको छ। “गंगासागर जल संरक्षण र आरतीमा सरकारको एक पैसा खर्च भएको छैन। यो सब आम नागरिक र कर्मचारीहरूको स्वयंसेवाको देन हो”, गर्वका साथ भन्छन् रामाशिष।
र, गंगासागरको निर्मलीकरण पश्चात् जनकपुरका अनेकन् तलाउ–पोखरीको पनि स्थानीयबाट स्वस्फूर्त सफाइ शुरू भएको खबर छ।
कनकमणि दीक्षित
साप्ताहिक खबरपत्रिका हिमालबाट


