समाचारशुक्रबार, साउन २३, २०७१
एमाओवादी अहिलेसम्मकै कमजोर प्रतिपक्षीः गगन थापा
नेपाल प्रेस युनियन लमजुङले २३ साउनमा बेसीशहरमा गरेको पत्रकार भेटघाटमा बोल्दै सभासद गगन थापाले सरकारको काम प्रतिपक्षी दलको भूमिकामा पनि निर्भर रहने दाबी गर्दै एमाओवादी इतिहासकै कमजोर प्रतिपक्षी भएको दाबी गरेका छन् ।
सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै अहिलेसम्म २६ सभासदको मनोनयन्, राजदूत नियुक्तिजस्ता जरुरी काम हुनु नसक्नु सरकारको कमजोरी रहेको थापाको भनाई छ ।
उनले सरकारलाई दबाब दिने काम प्रतिपक्षले गर्नु पर्नेमा प्रतिपक्षी एमाओवादी कमजोर हुँदा कांग्रेस र एमालेका केही सभासदहरुले नै प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दाबी गरे ।
“अहिले सदनमा प्रतिपक्षी नै छैन,” उनले भने, “एमाओवादीले नजानेको हो या नगरेको हो, प्रतिपक्षीको भूमिका खेल्न सकेन ।”
दुईतिहाइबाट संविधान
थापाले कुनै दल विशेषले संविधान निर्माणमा बाधा पार्न खोजे पेलेरै भए पनि संविधान निर्माण गरिने बताएका छन् ।
“यस पटक देशले जसरी भएपनि संविधान पाउँछ यसलाई कसैले रोक्न सक्दैन,” उनले भने, “दुईतिहाइबाट भए पनि संविधान बनाएरै छोडछौं ।”
बहुपहिचानयुक्त संघीयता
थापाले नेपाली समाज र जनसंख्या वितरणलाई विश्लेषण गर्दा कुनै पनि प्रदेश एकल पहिचानको हुन नसक्ने धारणा व्यक्त गरे ।
प्रदेशको नामका जति विवाद गरे पनि बहुजातीय, बहुभाषिक र बहुपहिचानयुक्त प्रदेश नै निर्माण हुने थापाको भनाई थियो ।
युवराज श्रेष्ठ, लमजुङ
