समाचारशुक्रबार, साउन २३, २०७१
अमेरिकाद्वारा इराकमा हवाई कारवाही
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले उत्तरी इराकको इरबिलमा अमेरिकी वायु सेनाका विमानले विद्रोही लडाकुहरुको हतियार भण्डारमा आक्रमण गरेको जनाएको छ ।
पेन्टागनका अनुसार दुइवटा एफए–१८ विमानले ५०० पाउन्ड तौल भएको लेजर सञ्चालित बमले इरबिल नजिक विद्रोहीहरुको हतियार भण्डारलाई निशाना बनाइएको छ ।
अमेरिकाले इरबिलमा अमेरिकी नागरिकहरुको सुरक्षाका लागि आक्रमण गरिएको दाबी गरेको छ ।
अमेरिकी केन्द्रीय कमाण्डले राष्ट्रपति बाराक ओबामाको अनुमतिपछि आक्रमणको निर्णय गरिएको बताएको छ । ओबामाले बिहिबार ‘इस्लाम चरमपन्थीले अमेरिकी नागरिक वा प्रतिष्ठानमाथि खतरा भएमा उनीहरुका विरुद्ध सोझै कारवाही गरिने’ बताएका थिए ।
इस्लामिक स्टेट नामक सुन्नी बिद्रोही समूहले सिरिया र इराकको ठूलो क्षेत्रमा कब्जा गरेको छ । डेढ महिनाअघि इराकी शहर मोसुल कब्जा गरेका विद्रोहीहरुले काराकोशमा समेत कब्जा गरिसकेका छन् ।
एजेन्सी
