समाचारसोमबार, साउन २६, २०७१
‘चरी’को सम्पत्ति खोज्दै प्रहरी
चरीसँग भेटिएको आइफोनका आधारमा प्रहरीले उनको ‘कनेक्सन’ खोतल्न शुरु गरेको समाचार नयाँ पत्रिकाले छापेको छ ।
अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले चरीको आर्थिक पाटोको अनुसन्धान हुने बताए । “जबर्जस्ती असुलेको रकम गर्लफ्रेन्डलगायतको नाममा राखेको भन्ने आएको छ,” उनले भने, “आपराधिक पाटोबाट त्यसको अनुसन्धान हुन्छ ।”
स्रोतका अनुसार एमाले नेता राजेन्द्र पाण्डेसँग मिलेर चरीले धादिङको एक हाइड्रोपावरमा समेत लगानी गरेको तथ्य प्रहरीले फेला पारेको छ ।
खुस्बुले हालै धापाखेलमा सिभिल होम्सभित्र किनेको घरमा चरीको लगानी रहेको सूचना पाएपछि प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग मिलेर छानबिन गर्न लागेको हो।
“धापाखेलस्थित सिभिल होम्सको घर नम्बर २४ चरीले अबैध रुपमा कमाएको पैसाबाट किनिएको भन्ने सूचना आएको छ,” अपराध महाशाखाका एक अधिकारी भन्छन् “योसहित उनका अन्य लगानीबारे हामी सूचना बटुलिरहेका छौं।”
आफूलाई ठगेर सो घर किनेको भन्दै मित्तल थरका एक व्यवसायीले प्रहरीमा मौखिक उजुरी दिएका छन्। एक करोड रुपैयाँभन्दा बढी तिरेर सो घर किनेको स्रोतले बताएको छ।
गतवर्ष महाराजगन्जस्थित घरमा बस्ने खुस्बुले चरीसँग प्रेम गर्न थालेलगत्तै घर किनेकी थिइन्।
उनले चढ्ने स्कोडा गाडी भने पूर्वप्रेमी अर्पण कोइरालाले किनिदिएको स्रोत बताउँछ ।
गत बुधबार भीमगढुंगामा चरी मारिएका थिए ।
प्रहरीले इन्काउन्टरमा मारिएको बताए पनि उनका आफन्तले प्रहरीले पक्राउ गरेर हत्या गरेको दाबी गरेका छन् ।
विवादका कारण पाँच दिन बित्दा पनि चरीको शवको पोस्टमार्टम हुन सकेको छैन ।
नयाँ पत्रिका दैनिकबाट
