समाचारमंगलबार, साउन २७, २०७१
अर्को ‘जुरे विपत्ति’ आउने खतरा
सडकभन्दा माथि रहेको तिमिल्सिना टोलका ३२ घरपरिवार पहिरोले घर तान्ने आशङ्काले आतङ्कित बनेका छन् ।
उक्त गाउँलाई राम्चे र मानेश्वाराको दोसाँधबाट बग्ने अँधेरीखोलाले तान्न थालिसकेको र वर्षा भई पहिरोले भोटेकोशी थुनिएमा बाह्रविसेबजार र पुलवारिको राम्चेबजारसमेत ध्वस्त हुन सक्ने मानेश्वाराका शिक्षक केशव पौडेलले बताए ।
गत वर्ष पनि यस ठाउँमा पहिरो गएर करिब ३० रोपनी धान खेत बगाएको र यस वर्ष पनि ५०–६० रोपनी धान खेतको साथै ठूलठूला रूखसमेत बगाउन शुरु गरेको पौडेलले दिए ।
बस्तीलाई ठाडो खोलाले तान्न शुरु गरिसकेको र बस्तीभन्दा करिब ५०० मिटर तल पर्ने भोटेकोशी नदीले पनि तान्न शुरु गरिसकेको छ ।
बारीको अँधेरी खोला र सामुन्नेपारिको खागदलखोला दुवै तर्फबाट पहिरो गएर नदी थुनिएमा अकल्पनीय क्षति हुने स्थानीयको भनाइ छ ।
१७ साउन राति मात्रै नजिकैको जुरेमा पहिरो जाँदा १५७ जनाको मृत्यु हुनुका साथै करोडौंको धनमालको क्षति भएको थियो ।
बर्खा लागेपछि बिना अध्ययन डोजर प्रयोग गरी भित्र्याउन लागेको बाली नोक्सान गरेर गाउँगाउँमा सडक निर्माण गर्ने होडबाजीले पनि गाउँवासी पहिरोको मारमा पर्ने गरेको स्थानीयको गुनासो छ ।
गत वर्ष पनि ड्यामसाइडमाथि माङखा–१ को कागुने–भालुखोप हुँदै निर्माण गरिएको राम्चे ग्रामीण सडकको कारण पहिरो लागी घर बगाउँदा चारजनाको दुःखद् अवसान भएको थियो । पहिरोमा परेकामध्ये दुईजना बेपत्ता भएका थिए ।
