थप समाचारबुधबार, साउन २८, २०७१
रक क्लाइम्बिङको रोमाञ्चकता
-क्लेर हेनिङ
अनुभवी पर्वतारोहीका लागि मात्रै होइन, शरीर बिगारेर बसेका आम शहरियाका लागि पनि मजेदार कसरत हो– रक क्लाइम्बिङ। अझ काठमाडौंवासीलाई त रक क्लाइम्बिङका लागि आँगनमै अवसर छ। ६ वर्षदेखि दैनिक जसो क्लाइम्बिङ गर्ने फ्रिलान्सर गाइड विकास गुरुङ नेपालमा रक क्लाइम्बिङ गर्नेहरूको समूह ज्यादै सानो रहेको बताउँछन्। “तर, यसलाई पछ्याउने विस्तारै बढ्दैछन्”, विकास भन्छन्।
आगामी पाँच वर्षमा नेपाली रक क्लाइम्बरको समूह गतिलै हुने उनको अनुमान छ। त्यो बेला साहसिक रक क्लाइम्बिङका लागि संसारभरका मानिस नेपाल आउन थाल्ने उनी बताउँछन्। अहिले उनी आफ्नो सम्पर्कमा आउने क्लाइम्बरहरूलाई नागार्जुन र हात्तीवन पुर्याउँछन्।

काठमाडौं शहरबाट २० मिनेटमा पुगिने नागार्जुनमा १७ पिच भएको ४० मीटर अग्लो रक छ, जुन सिक्नेहरूका लागि ज्यादै राम्रो ठाउँ हो। यसैगरी, एक घण्टाको ड्राइभमा पुगिने शहरबाट दक्षिणको हात्तीवनमा विभिन्न लेभलका अनेक रुट छन्।
नेपाल पर्वतारोहण संघ र नेपाल माउण्टेन गाइड एसोसिएसनले नयाँ रुट खोल्ने, कलेजका विद्यार्थीका लागि कोर्स सञ्चालन गर्ने जस्ता गतिविधि मार्फत रक क्लाइम्बिङलाई प्रोत्साहन दिइरहेका छन्। तर, नयाँ रुट खोल्न रकमको अभाव छ। एउटा क्लाइम्बिङ स्पट खोल्न पनि निकै खर्च हुन्छ। अहिले अन्नपूर्ण क्षेत्रमा नयाँ क्लाइम्बिङ रुट खोल्ने तयारी भइरहेको विकासले बताए।
ठमेलस्थित हार्डकोर नेपालका गाइड रामचन्द्र बिक नेपाल अनुभवीका लागि मात्र नभई सिकारु क्लाइम्बरहरूका लागि पनि उत्तम भएको बताउँछन्। उनका अनुसार, रक क्लाइम्बिङका लागि नेपाल आउने विदेशीमध्ये अधिकांश सिकारु नै हुन्छन्।
नेपालमा रक क्लाइम्बिङ सिक्नु उत्तरी अमेरिका र यूरोपमा भन्दा कता हो कता सस्तो पनि छ। “हार्डकोरले नागार्जुनमा कुल ५५ डलरमा लञ्च, यातायात र सरसामानसहितको एकदिने टि्रप चलाउँछ” चन्द्र भन्छन्, “यसैगरी, २५० डलरको चारदिने रक क्लाइम्बिङ क्लिनिक पनि छ।”
उनका अनुसार, चार दिनको क्लाइम्बिङ क्लिनिक क्लाइम्बरहरूको इच्छा अनुसार लगातार वा फरक–फरक दिनमा पनि हुन्छ। क्लाइम्बिङ क्लिनिकमा बिलेइङ र एङकरिङदेखि लिड, स्पोर्टस् र रेस्क्युसम्मका सीप सिकाइन्छ। र, अन्तिममा प्रमाणपत्र पनि दिइछ।
एकपल्ट रक क्लाइम्बिङ गरेपछि त्यसमा लत बसे जस्तो हुन्छ। त्यस्तैमध्येकी एक एलेक्सिस अमिनी दुई पटक नागार्जुन पुगिसकेकी छन्। एउटा रिसर्च प्रोजेक्टमा तीन महीनाका लागि नेपाल आएकी उनी यो साता दुई दिनको क्लाइम्बिङ टि्रपमा जाँदैछिन्। “त्यसपछि समय मिलाएर चार दिनको क्लिनिकमा जान्छु”, २१ वर्षीया एलेक्सिस भन्छिन्, “रक क्लाइम्बिङ बाहेक क्यानोनिङ र केभिङका लागि समेत फेरि नेपाल आउने मन छ।”
पहरामा गरिने आउटडोर क्लाइम्बिङ बाहेक छिटो सिक्न चाहनेका लागि काठमाडौंको ठमेलमा एस्ट्रेक क्लाइम्बिङ वाल र महाराजगञ्जमा पासाङ ल्हामु स्पोर्टस् सेन्टर पनि छन्। यी ठाउँहरुमा क्लाइम्बिङ सिक्न धेरै समय र पैसा पनि लाग्दैन।
हेर्नुहोस्ः www.hardcorenepal.com, www.astrekclimbingwall.com, www.facebook.com/Pasang LhamuS.ClimbingCentre
साप्ताहिक खबरपत्रिका हिमालबाट
