समाचारबिहीबार, साउन २९, २०७१
गण्डक बाँध जोखिममा, जिल्लामा ‘हाइ अलर्ट’
नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक बाँधको मर्मत भइरहेको ३ नम्बर ठोकर भत्कने खतरा बढेकोे छ । नदीको पानी बाँधबाट छुटेपछि बन्ने धारलाई रोक्नका लागि बनाइएको १२ नम्बर ठोकर यस अगावै भत्किसकेको छ भने अन्य ठोकरहरु जीर्ण भएकाले यस क्षेत्रमा खतरा बढदै गएको छ ।
उच्च जोखिम देखिएकाले जिल्लाका सबै सुरक्षा निकायहरुलाई उच्च सर्तकता (हाइ अलर्ट) मा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गण्डक बाँधमा पानी बढ्दै जाँदा अन्य जीर्ण ठोकरहरु पनि भत्केर बस्तीमा पानी पस्ने सम्भावना बढेको हो ।
अहिले नारायणी नदीमा आएको बाढीले बाँध फुट्न सक्ने अबस्थामा रहेको सिचाई डिभिजन कार्यालय सेमरी नवलपरासीले जनाएको छ ।
मर्मतसम्भारको जिम्मा भारतीय सरकारको रहेको उक्त बाँधको मर्मतको ठेक्का लिएको सिटी कन्स्ट्रक्सन कम्पनीले राम्रो काम नगरेको स्थानीय सरोकारवालाहरुले बताएका छन् ।
बाँध फुटेमा नवलपरासीको एक दर्जन गाबिससहित भारतको महाराजगन्ज र देवरिया जिल्ला डुबानमा पर्ने खतरा छ ।
विद्रोही गिरी, नवलपरासी
