समाचारशुक्रबार, साउन ३०, २०७१
देशका विभिन्न ठाउँमा बाढी–पहिरो, जनधनको क्षति
रुकुममा तीनको मृत्यु–
२९ साउन साँझ आएको पहिरोमा पुरिएर रुकुमको चुनवाङ–८ सिमचौरका ७ वर्षीय बालक विजय र उनकी दिदी १० वर्षीया विमलाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार ३५ मिटर माथिबाट खसेको पहिराले घरका सबै सामानहरु बगाएको छ । सिमचौरमा आसपासका थप ७ घरसमेत जोखिममा रहेका छन । उनीहरुलाई उचित स्थानमा सार्ने व्यवस्था भइरहेको गाविस सचिव निराजन शर्माले बताए ।
यस्तै रातभरी बर्षापछि खसेको पहिरोले घर पुरेपछि स्यालापाखा १ बतासेडाँडामा एक बालकको ज्यान भएको छ ।
राति स्थानीय हिरालाल कलेलको घर पहिरोले बगाउँदा छोरी १० बर्षकी कल्पनाको ज्यान गएको हो । पहिरोमा कलेलका ५ बर्षका छोरा प्रकाश गम्भीर घाइते भएका छन् ।
दुई दिनदेखि लागेको झरीले राप्ती लोकमार्ग अन्तर्गत रुकुम–सल्यान सडक खण्डको खाराको झुल्नेटा बजार नजिकै पहिरो जाँदा यातायात समेत अबस्द्ध भएको छ ।
जाजरकोट–
सल्लीबजार सडकखण्डको जगतिपुरको दारेगैरामा पहिरोले सडक भत्किएपछि यसखण्डमा चल्ने यातायातका साधनहरु ३० साउन बिहानैदेखि अवरुद्ध भएका छन् ।
सडकदेखि २०० मिटरमाथिबाट आएको पहिरोले ५० मिटरभन्दा बढी सडक भत्काएपछि यातायातका साधनहरु चल्न छाडेका हुन् ।
यसैगरी सक्ला गाविस वडा नं ८ मा पहिरोले तीनवटा घर पूर्णरुपमा बगाएको छ । घरमा रहेका लत्ता, कपडा, भाँडाकुँडा, पसल कुनै पनि बचाउन नसकिएको पशुसेवा कार्यालय सेपुखोला सक्लाका जेटिए गोविन्दबहादुर सिंहले बताए ।
पहिरोले भत्काएका घरहरुमा रत्नबहादुर महतरा र दीपबहादुर शाहीका रहेका छन् भने नौवटा घर उच्च जोखिममा परेको सिंहले बताए । बिहान पहिरो गएका कारण घरभित्र भएका मानिसहरुले भागेर ज्यान बचाएका थिए ।
नवलपरासी–
लगातार परेको वर्षाको कारण नारायणीमा बाढी आउँदा नवलपरासीका दर्जनौ गाविसका बासिन्दा प्रभावित भएका छन् ।
बाढीले गैडाकोट नगरपालिका १, ३ र ४ नम्बर वडा डुवानमा परेका छन । त्यसक्षेत्रका ५० घर परिवार सुरक्षित स्थानमा सर्ने तयारीमा छन् । आफूहरु डुवानमा पर्दा पनि सरकारले बेवास्ता गरेको भन्दै स्थानीयले केही बेर राजमार्ग समेत अवरुद्ध पारेका थिए ।
कावासोती खोलमा आएको बाढीका कारण कावासोती नगरपालिकाको ११, १२ र १३ वडामा व्यापकमात्रामा जमिन कटान भइरहेको छ ।
पानीको वहाव बढ्दै जाँदा गण्डकबाँध फुट्ने खतार भएपछि नर्सही, पक्लिहवा लगात गाविसका वासिन्दा सुरक्षितस्थान तर्फ सर्ने तयारीमा छन् ।
त्यसैगरी नवलपरासीको नरम– ४ मा आएको पहिरोले पाँच घर पुरेको छ ।
पहिरो जाँदा घरभित्रै रहेकी स्थानीय भीमबहादुर माकिमकी श्रीमती ३५ बर्षीया रेखीमाया बाहिर निस्कन नपाएको स्थानीयले बताएका छन् ।
पहिरोका कारण भएको मानवीय क्षतिको विवरण अझै आइपुगेको छैन । त्यसक्षेत्रमा यातायातसमेत अवरुद्ध हुँदा उद्धारमा समस्या भएको छ ।
त्यस्तै अरुणखोलमा आएको बाढीले नयाँबेलहानी गाविसको द्धारदहमा नहरको बाँध बगाएको छ । बाँध बगाएपछि बाढीले खेतको कटान थाल्दा बस्तीमा खोला पस्ने खतरा बढेको स्थानीय ओमबहादुर मल्लले जानकारी दिए ।
बर्दिया—
बुधबारदेखि अविरल परेको वर्षाका कारण कर्णाली नदीमा पानीको सतह बढेपछि बर्दिया राजापुर क्षेत्रका विभिन्न स्थान डुबानमा परेका छन् ।
बाढीले राजापुर नगरपालिकाका केही गाउँलगायत मुर्गौवा, छेदिया, प्रेमनगर, शङ्करपुरवस्तीलगायतका गाउँहरु डुबानमा परेका हुन् । गत वर्ष पनि राजापुर क्षेत्रका विभिन्न क्षेत्रमा बाढीले हजारौँ परिवार प्रभावित भएका थिए ।
यसैगरी बबई नदीमा पानीको सतह बढेपछि गुलरिया क्षेत्रका केही गाउँलगायत मनाउ, दौलतपुर, पाताभार, मोहम्मदपुर, नेउलापुर, शिवपुर, ठाकुरद्वारा बगनाह गाविसका विभिन्न वडाहरु डुबानमा परेका छन् ।
बाढीका कारण कुसुम्वा घाटमा नवनिर्मित झोलुङ्गेपुल बग्ने खतरा रहेको छ । डुबान क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
गाईघाट (उदयपुर)–
तीन दिनदेखि भएको निरन्तर वर्षाका कारण उदयपुर जिल्ला सिद्धिपुर गाविसको वीरेन्द्र बजारस्थित दिनेश राईको घर २९ साउनमा द्वारखोलाले बगाएको छ ।
राईको घर बगाउँदा करिब रु १२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ । द्वारखोलामा आएको बाढीका कारण वीरेन्द्र बजार नै डुबानको खतरामा रहेको स्थानीयवासी अशोक राईले बताए ।
वीरेन्द्र बजारको दक्षिणपट्टिको वाइचङु डाँडाबाट पहिरो खसेर द्वारखोला थुनिन थालेपछि सो बजार डुबानको खतरामा रहेको स्थानीय विष्णु मगरले बताए ।
बेलौरी (कञ्चनपुर)– कञ्चनपुर जिल्लामा बाढीका कारण रु दुई करोडभन्दा बढीको क्षति भएको छ ।
बाढीबाट रु दुई करोड ३६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बाढीले दोधारा–चाँदनी क्षेत्रका ४५ घर–परिवार पूर्ण विस्थापित भएका छन् ।
गोलबजार (सिरहा) –
कमला नदीको पूर्वी तटबन्ध भत्केर गाउँमा पसेको बाढीले सिरहाका–९ गाविस र सिरहा नगरपालिकाका केही भाग जलमग्न भएका छन् । बाढीबाट नौ गाविसका करिब ५०० परिवार घर छाडेर सुरक्षित स्थानमा भोकै रात बिताउन बाध्य भएका हुन् ।
भेडियाको सिसौघारी नजिक कमला नदीको बाढीले पूर्वी तटबन्ध बिहीबार बिहान भत्काएको थियो । उक्त तटबन्धको १५० मिटर भत्काएर नदीको बहाव नै पूर्वतिर फर्किएकाले खतरा बढेको सिरहाका प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले बताए ।
उच्च जोखिममा परेको विष्णुपुर प्रराको जमुवा गाउँका २२१ जना विस्थापित भएका छन् ।
बाढीले भोक्राहा, चिकना र विष्णुपुर प्रराको जमुवा गाउँ घेरिएको छ भने इटारी प्रसाही, चतरी, बेल्हा, सारस्वर, मल्हनिया गम्हरिया, मडार गाविस र सिरहा नगरपालिकाको ३, ४, ५, ६, ७, ८ वडा प्रभावित पारेको छ ।
गाउँमा बाढीको पानी २÷३ फिटसम्म जमेकाले फुसका घरहरु भत्किन थालेका छन् । बाढी प्रभावितहरु गाउँमा रहेको पक्की घर र कमला नदीको तटबन्धमा आश्रय लिएर बसेका छन् ।
बाढीको पानीले सिरहा मिर्चैया सहायकमार्गको सिरहा नगरपालिका २ र सारस्वर गाविसको दुई ठाउँमा भत्काएपछि सडक अवरुद्ध भएको छ । अहिले पश्चिमवर्ती एक दर्जन गाविस सिरहा सदरमुकामसँग सम्पर्क विच्छेद भएका छन् ।
नदीको बहाव कम नभएकाले तटबन्ध मर्मत कार्य सम्भव हुन नसकेको प्रमुख जिल्ला अधिकारी खाँले बताए । जिल्ला विकास समिति सिरहाले बाढीपीडितका लागि खरिद गरेको रु एक लाख मूल्यबराबरको खाद्यान्न वितरण गर्ने तयारी भइरहेको उनले बताए ।
डोल्पा (दुनै)–
वर्षायामको शुरुवातसँगै डोल्पा सदरमुकाम दुनै उच्च जोखिममा रहेको छ ।
साउन महिना शुरु भएलगत्तै ठूलो भेरीमा पानीको बहाव औसतभन्दा धेरै बढे पछि सदरमुकामवासी त्रसित रहेका स्थानीय हरि कार्कीले बताए ।
नदीले हरेक वर्ष आफ्नो मार्गलाई फराकिलो बनाउँदै लगेकाले नदी आसपासका खाली जमिन भासिँदै गएको र यसको रोकथामका लागि सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयवासी बबिकिशोर गुरुङले गुनासो गरे ।
