समाचारशुक्रबार, साउन ३०, २०७१
बर्दिया निकुञ्जभित्र सेनाले हतियारमात्रै जोगाउन सक्योे
बबई नदीमा आएको बाढीले बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको पोष्ट बगाएको छ । “हतियार बाहेक अरु सामान केही बचाउन सकिएन,” सेनाका कर्णेल प्रभुकृष्ण खड्काले जानकारी दिए । मानवीय क्षति पनि नभएको उनले बताए ।
उद्धारका लागि हेलिकप्टर मगाइएको खड्काले बताएका छन् ।
त्यसैगरी बबई नदीको बाढी बर्दीयाका बगनाहा, बनियाभार, पदनाहा, नेउलापुर, धधवारमा पस्दा सयौं घर डुबानमा परेका छन् । ७ घरपरिवारका सबै सदस्य हराइरहेकोे स्थानीयले जानकारी दिएका छन् ।
पूर्वपश्चिम राजमार्गमा रहेकोे पुलमाथिबाट बबई नदी बग्न थालेको छ भने सदरमुकाम गुलरिया बजार पनि पूरै डुबानमा परेको छ । गुलरियामा बाहिर निक्लने स्थिति नभएको र ज्यान जोगाउन सबै आफ्नो घरको छत र अग्लो स्थानमा बसेको प्रमुख जिल्ला अधिकारी पेजप्रसाद पौडेलले बताए ।
त्यसैगरी कर्णाली नदीको बाढी पसेर सूर्यपटुवा, दौलतपुर, भीम्मापुर, पाताभार गाविस र राजापुर नगरपालिका डुबानमा परेको हाम्रा सहकर्मी भावुक योगीले जानकारी दिए । योगीका अनुसार त्यसक्षेत्रका कतिपय घर बाढीले बगाएपछि मानिसहरु रुखमा चढेर ज्यान जोगाएका छन् ।
अहिलेसम्म मानवीय क्षति के कति भयो भन्ने बारे सूचना आएको छैन ।
प्रजिअ पौडेलले जिल्लाको स्थिति संकटग्रस्त रहेको भन्दै उद्धारका लागि सबै सुरक्षा निकाए खटिएको जानकारी दिए ।
तुफान न्यौपाने, नेपालगञ्ज
