समाचारशनिबार, साउन ३१, २०७१

घाइतेकोे उद्धार भएन, अवस्था चिन्ताजनक

हिमालखबर

दुई दिनअघि जाजरकोटको सक्लामा गएको पहिरोमा परी गम्भीर घाइते भएका सक्ला– ३ बन्डालाका जयलाल बोहराका छोरीहरु १३ वर्षीया आरती र १० वर्षीया कमला, रामीडाँडा–९ धौलाकोटका २६ वर्षीय कर्णे नेपाली, ३० वर्षीया सुधा नेपाली, १२ वर्षीय लले नेपाली र सक्ला– ५ का १४ वर्षका सन्देश बस्नेतको अवस्था चिन्ताजनक रहेको सक्ला– ६ का स्थानीय डिल्ली रावलले जानकारी दिएका छन् ।

सदरमुकाम खलङ्गादेखि दुई दिनको पैदलदूरीमा रहेका रामीडाँडा र सक्ला गाविसका विभिन्न गाउँमा २९ साउनमा गएको पहिरोले घर पुरिँदा घाइते भएकाको खराब मौसम र सरोकारवालाको बेवास्ताका कारण हालसम्म उद्धार हुन नसकेको हो । सो पहिरोमा परी चार जनाको ज्यान गएको थियो भने १० जना घाइते भएका थिए ।

घाइतेमध्ये ६ जनाको अवस्था निकै चिन्ताजनक रहेको भएपनि गृहमन्त्रालयले समयमा नै हेलिकोप्टरको व्यवस्था गर्न नसक्दा समस्या परेको हो ।

जिल्ला दैवीप्रकोप उद्धार समितिको बिहीबारको बैठकले तत्काल घाइतेको उद्धारका लागि मन्त्रालयसँग अनुरोध गरेपनि बेवास्ता भएको रामीडाँडा– ८ का चन्द्रबहादुर खड्काले बताए ।

एकातिर घाइतेको बेहाल अर्काेतिर विस्थापितको विचल्लीले गर्दा गाउँमा सन्त्रास फैलिएको खड्काले बताउनुभयो । पहिरोले घर पुरेका र घर उच्च जोखिममा परेर विस्थापित भएका २० परिवारका सर्वसाधारण कालीका मावि रामीडाँडाको प्राङ्गणमा बसिरहेको तथा उनीहरुको लागि कपडा र खानाको समस्या रहेको उनले जानकारी दिए ।

सक्ला र रामीडाँडा गाविसका पहिरो प्रभावित क्षेत्रमा जाने बाटो र पुलसमेत भत्केपछि उनीहरुलाई स्थानीयवासीले समेत सहयोग गर्न पाएका छैनन् ।

बाढी पहिरोका कारण जिल्लाका एक दर्जनभन्दा बढी गाविसमा धान र मकै बाली पूरै नष्ट भएको छ भने छिन्चु जाजरकोट सडकखण्डको कुदुमा सडक भत्काउँदा जाजरकोटको यातायात बन्द भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>