समाचारआइतबार, भाद्र १, २०७१

श्रीकृष्ण जन्मअष्टमी मनाइँदै

हिमालखबर

राष्ट्रपति रामवरण यादव पाटन कृष्ण मन्दिरमा । तस्वीर: रासस

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

कंसको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा जन्म लिएको स्मृतिस्वरुप आजको पर्व मनाउने गरिएको हिन्दू धर्मशास्त्रमा उल्लेख छ ।

श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई पे्ररित गरेका थिए ।

कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएको महाभरतमा उल्लेख छ ।

युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गरेका थिए । यही युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भगवत गीता हो । गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ ।

आजको दिन देशभरका कृष्ण मन्दिरमा पूजा आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै छ ।

राष्ट्रपतिद्वारा कृष्णमन्दिरमा पूजा

श्रीकृष्ण जन्माष्टमीका अवसरमा राष्ट्रपति रामवरण यादवले पाटनस्थित श्रीकृष्ण मन्दिरमा पूजा अर्चना गरेका छन् ।

१ भदौ बिहान ८ बजेर १० मिनेटमा कृष्णमन्दिर पुगेका राष्ट्रपति यादवले मूल पुजारी रवीन्द्र शर्माको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् ।

हन्दु धर्मावलम्बीको महत्वपूर्ण पर्व श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटन दरबारपरिसरमा आज ठूलो मेला लागेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>