समाचारआइतबार, भाद्र १, २०७१
चार दिनपछि उद्धारको योजना बनाउँदै गृहमन्त्री
बर्दिया र सुर्खेतमा बाढीले सिँगै गाउँ नै बगाएको छ । १ भदौदेखि घाम लाग्न थालेको छ, नदीमा बाढी सुकिसकेको छ र पानीको सतह धेरै तल आइसकेको छ । सरकार चाहीं अहिले आएर उद्धार र राहतको योजना बनाउँदै छ ।
१ भदौ विहान मध्यपश्चिममा बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणका लागि गृहमन्त्री बामदेव गौतम नेपालगञ्ज आइपुगेका छन् । विमानस्थलमै उनले सुरक्षा अधिकारीसँग उद्धार र राहतका लागि योजना बनाउँदै छलफल गरे ।
मध्यपश्चिमका सह—क्षेत्रीय प्रशासक राजकुमार श्रेष्ठले बर्दिया, बाँके, सुर्खेत, दाङ र सल्यानको अवस्था जानकारी गराइसकेपछि गृहमन्त्री गौतमले प्रभावित क्षेत्रका मानिसलाई पायक पर्ने ठाउँमा शिविर बनाएर राहत बाँड्न निर्देशन दिए ।
अहिलेसम्म सम्बन्धित जिल्लाका विपद व्यवस्थापन समितिले प्रभावित क्षेत्रमा केही क्वीन्टल चिउरा र चिनी बाँड्ने बाहेक अन्य काम गर्न सकेको छैन ।
सुर्खेत र बर्दियाका धेरै स्थानमा त हालसम्म सुरक्षाकर्मीसमेत जान सकेका छैनन् । बाढीले मारिएका वस्तुभाउ र खाद्यान्नसमेत कुहिएर निस्कने गन्धले बाढीग्रस्त स्थानमा बस्नै नसक्ने गरी दुर्गन्ध फैलिएको छ ।
तत्काल प्रभावितलाई सुरक्षित स्थानमा राखेर सफाई नगर्ने हो भने महामारी फैलनसक्ने सम्भावना छ ।
गृहमन्त्रीले शिविर बनाई भेरी अञ्चल अस्पतालका डाक्टर र नर्सको टोली परिचालन गर्न निर्देशन दिएका छन् ।
केहीबेरमै उनले बाँके, बर्दिया, दाङ र सल्यानको बाढी पहिरो प्रभावित क्षेत्रमा निरीक्षण गर्न र राहत स्वरुप केही क्वीन्टल चिउरा र चिनी बाँड्ने कार्यक्रम छ ।
तर पीडितलाई तत्काल चाहिएको सफा खानेपानी, व्यवस्थित बसोबास, स्वास्थ्य परीक्षण, औषधी र शौचालयका बारे भने गृहको कुनै तयारी–योजना छैन ।
गौतमले नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उद्धार राहतमा ढिलाई भएको स्वीकारे । स्रोत साधन अभावले गर्दा उद्वारमा ढिलाई भएको भन्दै उनले अर्को वर्ष क्षेत्रीय स्तरमा केही हेलिकप्टर ‘स्टाण्डबाई’ राख्ने योजना सुनाए ।
“स्रोत अभाव र मौषमको प्रतिकूलताले सरकारले तत्काल उद्धार गर्न सकेन,” गृहमन्त्री गौतमले भने, “तर जनताले जे जसरी आफूलाई सुरक्षित गर्नुपर्ने थियो, गरे, त्यो ठूलो कुरा हो ।”
बाँकेमा २ स्थान र बर्दियामा ८ स्थानमा शिविर बनाएर विस्थापितलाई राख्न र कम्तिमा १५ दिनपछि पुनस्र्थापना गर्ने व्यवस्था मिलाउन गृहमन्त्रीले यस क्षेत्रका प्रशासकलाई निर्देशन दिएका थिए ।
तुफान न्यौपाने, नेपालगञ्ज

