समाचारआइतबार, भाद्र १, २०७१
बर्दियामा १६ को मृत्यु, २ सेनासहित ५० वेपत्ता, पीडितहरु विरामी पर्न थाले

बर्दीयाको नेउलापुरमा बाढी पीडितहरु सामूहिक खानाको तयारी गर्दै । सबै ठाउँका पीडितहरुले खान पाएका छैनन । तस्वीर: भावुक योगी
बर्दिया, बेलवाको चेपाँग गाँउमा २ जना, बनियाभारमा ७ जना, गुलरियामा ३ जना, बगनाहाको शाहीपुरमा १ जना, मगरागडीको जयनगरमा १ जना, मोहम्मदपुरमा १ र सोरहवामा १ जना गरी १६ जनाको शव फेला परेको छ ।
फेला परेका सबै शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
यस्तै बाढीमा १५ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ भने स्थानीयले ५० जना वेपत्ता भएको बताइरहेका छन् ।
निकुञ्ज सुरक्षार्थ खटिएको रणसार्दुल गणका २ सैनिक जवान पनि सम्पर्कमा नआएकोे सेनाले जनाएको छ ।
‘राहत पाइएन, खानकै समस्या’
जिल्ला प्रशासन कार्यालय बर्दियाले ३१ साउन दिउँसोबाट बाढी प्रभावित क्षेत्रमा खाद्य सामाग्री पठाउने काम भईरहेको जनाए पनि १ भदौ विहानसम्म पदनाहा, बनियाभार, बगनाहा, मगरागढी, नेउलापुर, शिवपुर, ठाकुरद्वारा, सूर्यपटुवा र राजापुर क्षेत्रमा कुनै प्रकारको राहत नपाएको स्थानीयले बताएका छन् ।
घर बगेका भत्केका पीडीतहरु स्थानीय विद्यालयमा शरण लिइरहेका छन् । उनीहरुलाई स्थानीय सामुदायिक वन, ब्यापारी र केही संघसंस्थाले चाउचाउ, चामल, दाल, नुन, तेल सहयोग गरिरहेका छन् ।
बािनयाभार, पदनाह, नेउलापुर, बगनाहा, शिवपुर, ठाकुरद्वारा गाविसका बाढी पिडीतहरुलाई बाढीले क्षति नपु¥याएका घर–परिवारले दाल चामल दिइरहेका छन् ।
यसैबीच १ भदौ दिउँसो नेपालगञ्जबाट हेलिकप्टरले ल्याएको चिउरा, चिनी र विस्कुट बनियाभार, पदनाहा, बगनाहा र नेउलापुरमा वितरण शुरु गरिएको त्यो पर्याप्त नभएको स्थानीयले बताएका छन् ।
“खान नपाएको तीन दिन भइसक्यो, सरकारले आज अलिकती चिउरा र चिनी दिएर झारा टार्ने काम गरेको छ, धेरै ठाउँमा मान्छे भोकभोकै र विरामी छन्,” पिडीत तिलक लम्सालले भने ।
पीडितहरु विरामी पर्न थाले
स्थानीय विद्यालयमा शरण लिएका बाढी पीडितहरु रुघा खोकी, ज्वरो र पखलाले विरामी पर्न थालेका छन् । बाढी पसेको गाँउमा मरेका पशु र खाद्दान्न कुहिएर दुर्घन्दित छ । विद्युत सेवा अवरुद्ध छ ।
बर्दियामा बबई नदी, ओराही नदी र कर्णाली नदीमा आएको बाढीले कती घर डुबानमा परे र कती घर बगे भन्ने एकिन तथ्याँक अझै संकलन भइसकेको छैन ।
बगनाहा, बनियाभार, पदनाहा, नेउलापुर, मगरागडी, धधवार, शिवपुर, ठाकुरद्वारा, सुर्यपटुवा, र गुलरीया तथा राजापुर नगरपालिकाका झण्डै चार हजार बढी घर डुबानमा परेका छन भने एक हजार घर बाढीले बगाएको अनुमान गरिएको छ ।
भावुक योगी, बर्दिया
