समाचारसोमबार, भाद्र २, २०७१
बाढी पहिरोपीडितलाई सहयोग गर्न सरकारको अपिल
प्रधानमन्त्री कोइरालाले २ भदौमा अपिल जारी गर्दै सबै नागरिकलाई आफ्नो ठाउँबाट उद्दार, राहत र पुनस्र्थापना कार्यमा सहयाग पुर्याउन आग्रह गरेका हुन् । अविरल वर्षाले देशका विभिन्न भागमा अकस्मात बाढी पहिरो आएर ठूलो जनधनको क्षति हुन गएको घटनाले मर्माहत बनाएको बताउँदै उनले विपत्तिको बेला सहयोग गर्न अपिल गरेका छन् ।
“यो राष्ट्रिय दुःखमा समस्त मानवीय उपकारमा समर्पित सम्पूर्ण राजनीतिक दलहरु, सङ्घसंस्था, साहु–महाजन, कम्पनी, प्रतिष्ठान, स्वदेशी तथा विदेशी गैरसरकारी सङ्घसंस्था, सरकारी तथा अर्धसरकारी निकायमा कार्यरत समस्त राष्ट्रसेवकलाई यस कार्यमा उदारतापूर्वक सहयोग गर्न आग्रह गर्दछु”, प्रधानमन्त्री कोइरालाले जारी गरेको अपिलमा उल्लेख छ ।
प्रधानमन्त्रीले सरकारले प्राकृतिक प्रकोप पीडितहरुको उद्धार, राहत वितरण र पुनःस्थापनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित स्थानीय प्रशासनलाई परिचालन गरेको बताएका छन् । उद्दार, राहत वितरण र पुनस्र्थापना कार्यमा सबै निकायलाई निर्देशन दिएको अपिलमा उल्लेख छ ।
अपिलमा भनिएको छ, “यो प्राकृतिक विपत्तिबाट नागरिकलाई जोगाउन सरकारले आरम्भ गरेको प्रयासलाई सार्थक बनाएर दुःखमा परेका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शीघ्रातिशीघ्र सहयोग पुर्याउन स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा पुनः अनुरोध गर्दछु ।”
