समाचारबुधबार, भाद्र ४, २०७१

संवैधानिक अदालतको संरचनाबारे बहस शुरु

हिमालखबर

अघिल्लो संविधानसभाको न्यायप्रणाली समितिसम्बन्धी विवाद समाधान उपसमितिले सहमति गरेको विषयमाथि छलफल गर्ने क्रममा संवैधानिक अदालतको संरचना स्थायी रुपमा राख्ने वा निश्चित अवधिसम्मलाई मात्र राख्ने भन्ने सम्बन्धमा बहस शुरु भएको हो ।

बैठकमा संवैधानिक अदालतको काम, कर्तव्य र अधिकारका सम्बन्धमा पनि उपसमितिले तयार पारेको प्रतिवेदनमा परिमार्जनका लागि सभासद्हरूले सुझाव दिएको समितिका सचिव मुकुन्द शर्माले जानकारी दिए ।

सर्वाेच्च अदालत र संवैधानिक अदालतको अधिकार क्षेत्र, दुवै अदालतमा रहने न्यायाधीशको सङ्ख्या, पदावधि र योग्यता, नियुक्ति र पदमुक्तिको संयन्त्र, भ्रष्टाचार र अधिकार दुरुपयोग सम्बन्धमा कारबाही गर्ने संयन्त्र र प्रक्रियाका बारेमा समेत बैठकमा छलफल भएको थियो ।

न्यायाधीशको योग्यताका लागि स्नातक वा स्नातकोत्तर उपाधि प्राप्त गरेको व्यक्ति हुने विषयमा छलफल भएको समितिका सचिव शर्माले जानकारी दिए । उनका अनुसार राज्यको पुनःसंरचना र शासकीय स्वरुपलाई मध्यनजर गर्दै उपसमितिको सिफारिसमाथि विवेचना गरिएको थियो ।

बैठकमा दुवै अदालतको आवश्यकता र औचित्यका सम्बन्धमा प्रतिवेदनमा रहेका सबल र दुर्बल पक्षका बारेमा छलफल गरी न्यायप्रणालीलाई पारदर्शी र जनताप्रति उत्तरदायी बनाउने सम्बन्धमा बहस भएको उनले जानकारी दिए ।

उपसमितिले ३० साउनमा बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा संवैधानिक अदालतका सम्बन्धमा भविष्यमा समेत प्रदेशका बीचमा विवाद हुनसक्ने कुरालाई मध्यनजर गरी स्थायी रुपमा राख्नुपर्ने उल्लेख छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>