समाचारशुक्रबार, भाद्र ६, २०७१
डुंगा पल्टिंदा बेपत्ता दुईको शव फेला (अपडेट)
–सञ्जय साह, रौतहट
रौतहटको पिपरा रजवाडा गाविस–७ स्थित बागमती नदीमा डुंगा पल्टिंदा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला परेको हो । ५ भदौ साँझ ५ बजेतिर डुंगा पल्टिंदा बेपत्ता पिपरा रजवाडा गाविस–७ का दुई जनाको ५ भदौ बिहान शव फेला परेको हो ।
स्थानीय ४५ वर्षीया सुखनीदेवी पण्डित र ६५ वर्षीया दिपानीदेवी दासको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भीम ढकालले जानकारी दिए । उनीहरुको शव दुर्घटनास्थल भन्दा दुई किलोमिटर तल फेला परेको थियो ।
स्थानीय ६० वर्षीय महादेव महतो भने अझै हराइरहेका छन् । उनको अझै खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सर्लाहीबाट घाँसदाउरा लिएर रौतहटस्थित गाउँ आउने क्रममा ५ भदौमा डुंगा पल्टिएको थियो । ६० जना यात्रु सवार डुंगा पल्टिंदा नदीमा डुबेका ५७ जनालाई भने स्थानीयबासिन्दा, प्रहरी र सेनाले उद्दार गरेका छन् ।
नदीको छेउमै डुंगा पल्टिएकाले उनीहरुलाई नदी बाहिर ल्याउन सजिलो भएको थियो । नदीमा पल्टिएको डुंगा भने ५ भदौ साँझ नै एक किलोमिटर तल फेला परेको थियो ।
सम्बन्धित समाचार
डुंगा पल्टिंदा अलपत्र परेकाको सेनाले उद्दार गर्दै
