समाचारआइतबार, भाद्र ८, २०७१
तीन दल बैठकमा कुरा मिलेन, एमाओवादी नेताहरु बाहिरिए
नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका शीर्ष नेताहरु सम्मिलित बैठकमा एमाओवादी नेताले माग गरेको उच्चस्तरीय राजनीतिक समिति गठनमा अन्य दुई दल सहमत नहुँदा एमाओवादी नेताहरु बाहिरिएका छन् ।
एमाओवादीले तीन दलवीच भएको चारबुँदे सहमति कार्यान्वयनको माग राखेको थियो ।
चारबुँदे सहमति कार्यान्वयन नभएसम्म कांग्रेस र एमालेसँग कुनै वार्ता नगर्ने एमाओवादी नेताहरुले बताएका छन् ।
दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएपछि तीन दलवीच भएको सहमतिमा सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गर्ने, एमाओवादीको भनाई अनुसार निर्वाचनमा भएको भनिएको धाँधलीबारे संसदीय छानविन समिति बनाउने र उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने लगायतका विषयमा सहमति भएको थियो ।
उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व अध्यक्ष पुष्पकमल दाहालले पाउनु पर्ने एमाओवादीले अडान राखेपछि यसअघि पनि उक्त समिति गठन विषयमा भएका बैठक निष्कर्षमा पुग्न सकेका थिएनन् ।
बालुवाटार बैठकमा सहभागी एमाले महासचिव इश्वर पोखरेलका अनुसार एमाओवादी नेताहरु आफ्ना कुरा राखेर बाहिरिएका हुन् । उनले उच्चस्तरीय राजनीतिक समिति बनाएर त्यसको नेतृत्व दाहाल दिइनुपर्ने एमाओवादीले माग गरेको तर, त्यो सम्भव नभएको बताए ।
