समाचारसोमबार, भाद्र ९, २०७१
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियारले भौतिक पूर्वाधार निर्माण, शिक्षक तथा कर्मचारी नियुक्ती, खरिद प्रक्रिया लगायतमा आर्थिक अनियमितता गरेको भन्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले ९ भदौमा उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले उपकुलपति प्रा.डा. पदमलाल देवकोटा, रजिष्ट्रार डा.ठकेन्द्र प्रकाश गिरी, सेवा आयोगका अध्यक्ष प्रा.डा.नवराज कँडेल, सेवा आयोगका सदस्य प्रा.डा.श्रीराम प्रसाद उपाध्याय, विज्ञान प्रविधि संकायका डीन तथा कार्यकारी परिषदका सदस्य डा.केशर सिं राना, मानविकी तथा सामाजिक संकायका डीन पिताम्बर ढकाल, व्यवस्थापन संकायका डीन डा.मस्तबहादुर गरन्जा, शिक्षा विज्ञान संकायका डीन लालमणि आचार्य, ईन्जिनियरिङ संकायका डीन रामचन्द्र अर्याल, उपप्राध्यापकहरू गणेशबहादुर रावत र सुधन गौली, लेखा नियन्त्रक कमल केसी, अनुगमन अधिकृत पारसराम गिरी, सहायक प्रशासकहरू जीवन कुमार थापा र गगन सिंह बोहरा, वरिष्ठ सहायक गणेशबहादुर केसीविरुद्ध मुद्धा दायर गरेको अख्तियारले जनाएको छ ।
अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले विश्वविद्यालय कोषको रकम हानिनोक्सानी गरेको ठहरसहित मुद्दा दायर गरेको बताए । उनीहरुविरुद्ध रु.१ करोड ८९ लाख ८६ हजार बिगो दावी गरिएको सापकोटाको भनाइ छ ।
