समाचारबुधबार, भाद्र ११, २०७१
पर्वतमा पहिरोः चार बेपत्ता, जलविद्युत बन्द, राजमार्ग अवरुद्ध
कुश्मा नगरपालिका– १८ पकुवाका हरिलाल चापागार्इंको घर पुरिँदा उनकी श्रीमती ५८ वर्षीया पुतली, तीजमा माइत आएकी छोरी २६ वर्षीया जमुना पौडेल र उनका छोरा र छोरी पुरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
बिहान ७ बजेको समयमा घरमाथिको राम्चेको डाँडो खसेर घर पुरिएकाले उनीहरु बेपत्ता भएका हुन् । गाउँलेले पहिरो पन्छाएर श्रीमती पुतलीको उद्धारको प्रयास गरिरहेका छन् । उनी जिउँदै रहेकाले पहिरो हटाएर निकाल्ने प्रयास भइरहेको उद्धारमा संलग्न सुरेन्द्र गौतमले जानकारी दिए ।
बाँकी तीन जनाको अवस्था भने अज्ञात छ । उद्धारका लागि चण्डिका सशस्त्र प्रहरी गण कुुस्मा र जिल्ला प्रहरी कार्यालय पर्वतबाट त्यसतर्फ टोली हिँडेको छ ।
जलविद्युत् आयोजना बन्द
यसैगरी पहिरोले नहर थुनिएपछि पर्वतको चुवास्थित १० मेघावाट क्षमताको तल्लो मोदीखोला–१ जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ ।
पहिरोकै कारण राम्जा देउराली गाविस–७ स्थित जीवनज्योति प्राविको भवन बगाएको छ भने पर्वतको डिमुवामा पहिरो जाँदा पोखरा बागलुङ राजमार्गसमेत अवरुद्ध भएको छ ।
