समाचारबुधबार, भाद्र ११, २०७१

सुर्खेतमा बेपत्ता ४९ जना मृत घोषित

हिमालखबर

बाढीको विनास । फाइल तस्वीर

तीन दिनसम्मको अविरल वर्षा र बाढी पहिरोबाट बेपत्ता भएको दुई सातासम्म पनि सम्पर्कमा नआएको र बेपत्ताका आफन्तले धमाधम काजकिरिया गर्ने क्रम अघि बढाएपछि उनीहरूलाई मृत घोषणा गरिएको सुर्खेतका विभिन्न गाविसस्तरीय विपद् व्यवस्थापन समितिहरूले बताएका छन् ।

बाढी पहिरोबाट जिल्लाका ३४ जनाको मृत्यु भएको छ भने ९४ जना हालसम्म पनि बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मृतक सम्पूर्णको यसअघि नै सनाखत भइसकेको छ । बेपत्ताका आफन्तले बेपत्ता भएकाहरु बाँचेर फर्कन सक्ने सम्भावना नदेखेपछि धमाधम काजकिरियाको प्रक्रिया अघि बढाएको तातापानी गल्फाका अम्मरसिं टमटाले बताए ।

तातापानी गाविसमा मात्र २९ जना बेपत्ता भएका थिए । “उनीहरू सबैका आफन्तले काजकिरिया गरेपछि हामीले मृत घोषणा गरी बेपत्तालाई मृतकसरह मान्दै राहत उपलब्ध गराउन जिल्ला दैवी प्रकोप उद्धार समितिलाई सिफारिस गर्ने निर्णय गरेका छौँ,” विपद् व्यवस्थापन समिति तातोपानीका संयोजक तथा गाविस सचिव ओम चपाईंले भने ।

त्यस्तै, बाबियाचौर तिखाकुनामा आएको बाढीका कारण बेपत्ता भएका छ जनालाई मृत घोषणा गरिएको गाविस सचिव भद्रबहादुर थापाले बताए ।

यता हरिहरपुर गाविसको भेरी नदीमा आएको बाढीका कारण बेपत्ता भएका २४ जनालाई पनि मृत घोषणा गरिएको गाविस सचिव केशरबहादुर डाँगीले जानकारी दिए ।

स्थानीय विपद् व्यवस्थापन समितिले बेपत्ताका आफन्त र परिवारको सहमतिमा बेपत्ता भएकालाई मृतकसरह मानेर राहतको लागि सिफारिस गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>