समाचारबुधबार, भाद्र ११, २०७१
मलेशियामा कारखानामा आगजनी गरेको आरोपमा नेपाली मजदुरहरु पक्राउ
मलेशियाको जोहरमा इलेक्ट्रोनिक सामान उत्पादन गर्ने कारखानाका नेपाली मजदुरको १० भदौमा मृत्यु भएपछि आक्रोशित मजदुरहरुले कारखानामा आगो लगाएका छन् । समाचार एजेन्सी रोयटर्सले आगजनी र तोडफोडमा १ हजार मजदुरहरुको संलग्नता रहेको र त्यसमध्ये धेरै नेपाली नागरिक रहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै उल्लेख गरेकोे छ ।
मजदुरहरुले इलेक्ट्रोनिक सामान निर्यात गर्ने उक्त कारखानाको एक भाग पूरै ध्वस्त पारेको समाचारमा उल्लेख छ । मलेशियामा कार्यरत करिब ४० लाख मजदुरहरु असुरक्षित रहेको मजदुरहरुले बताएका छन् । झापाका हर्कबहादुर निरौलाको छातिमा समस्या आएपछि कम्पनीले उपचारका लागि कुनै पहल नगरेको र उनको मृत्यु भएको मजदुरहरुको भनाई छ । नेपालीहरु पक्राउ परेको समाचार पाएपछि दूतावासका अधिकारीहरु घटनास्थलतर्फ गएको मलेशियास्थित नेपाली दूतावासले जनाएको छ ।
जेसीवाईले सामासुङ, हिताची, वेस्टर्न डिजिटल जस्ता कम्पनीका लागि इलेक्ट्रोनिक पूर्जा उत्पादन गर्ने काम गर्छ ।
“रोजगारीका शर्तसम्बन्धमा कम्पनी र मजदुरबीचको असमझदारीले यस्तो घटना हुनपुग्यो,” जिल्ला प्रहरी उपप्रमुखलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ, “पक्राउ परेकाहरुलाई दंगा विरोधि कानून अन्तर्गत कारवाही हुनेछ ।”
मलेशियाका ठूला इलेक्ट्रोनिक्स, निर्माण र कृषि कम्पनीहरु नेपाल, बंगलादेश र इन्डोनेशिया जस्ता देशका कामदारहरुमा भरपर्दै आएका छन् ।
सन् २०१० मा पनि जेसीवाईमा कार्यरत नेपाली मजदुरको मृत्यु हुँदा त्यहाँका ५ हजार मजदुरहरुले विरोध प्रदर्शन गरेका थिए । त्यसबेला सिकिस्त विरामी भएका मजदुरलाई समयमै अस्पताल पुर्याउन कम्पनीले बेवास्ता गरेको मजदुरहरुले आरोप लगाएका थिए ।
गतहप्ता मात्रै क्वालालम्पुरमा रेलवे निर्माणमा काम गरिरहेका मजदुरमाथि ३०० टनको कंक्रिटको भित्तो खस्दा तीन बंगलादेशी मजदुरको मृत्यु भएको थियो ।
