समाचारबुधबार, भाद्र ११, २०७१
एमाओवादीले विशेष अधिवेशन गर्ने
एमाओवादीले एक वर्षभित्र विशेष महाधिवेशन गर्ने भएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ भदौमा बसेको पोलिटब्युरोको अनौपचारिक बैठकले नयाँ परिस्थितिमा आवश्यकताअनुसार विशेष महाधिवेशनमा जाने निर्णय गरेको स्थायी समिति सदस्य अग्नि सापकोटाले जानकारी दिए ।
उनले १ असोजमा बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशनको निर्णय गर्ने बताए । बैठकले पदाधिकारीसहित संरचनालाई विघटन गरी महाधिवेशन आयोजक समिति बनाउने र अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदल्ने उनले जानकारी दिए ।
उनले नेकपा–माओवादी, नेकपा (माओवादी) सहितकासँग पनि एकता गर्ने उद्देश्यसहित महाधिवेशन आयोजक समिति गठन गरिने बताए ।
२०६९ माघमा हेटौँडामा महाधिवेशन गरेको एमाओवादीभित्र विवाद बढ्दै गएपछि गत वैशाखमा विराटनगरमा राष्ट्रिय सम्मेलन भएको थियो ।
रासस
