समाचारबुधबार, भाद्र ११, २०७१
वैकल्पिक सडकको ट्रयाक खुल्यो
सडक डिभिजन कार्यालय दोलखा र व्यवसायीको सक्रियतामा पहिरो गएकै स्थान राम्चेबाटै वैकल्पिक सडकको ट्रयाक खोलिएको हो । १ भदौदेखि खोल्न शुरु गरिएको ट्रयाक खोल्ने काम ११ भदौमा सकिएको सडक डिभिजन कार्यालयका इन्जिनियर अरुण कुमार श्रीवास्तवले जानकारी दिए ।
सिन्धुपाल्चोकको राम्चे–५ मा १७ साउनमा गएको पहिरोले खासा र काठमाडौं जोड्न सडक नै भत्काएको थियो ।
“हामीले ड्यामसाइटतर्फबाट र व्यवसायीले बाह्रविसेतर्फबाट ट्र्याक खोल्न सुरु गरेका थियौँ,” इन्जिनियर श्रीवास्तवले भने, “सफा गर्ने काम बाँकी भएकाले १२ भदौदेखि गाडी चल्न थाल्ने छन् ।”
नयाँ खोलिएको ट्र्याक ६ मिटर चौडाइको हुने र साविकको भन्दा २०० मिटर लामो भई ड्यामसाइटदेखि बाह्रविसेसम्मको दूरी ३.३ किमि हुने उनले जानकारी दिए । दुवैतर्फबाट खोलिएको ट्र्याक सफा गर्ने र ग्रेडिङ घटाउने काम भइरहेको छ ।
रासस
