समाचारबिहीबार, भाद्र १२, २०७१

‘संविधान बन्दैन कि शंका लाइसक्यो…’

हिमालखबर

अर्घाखाँचीमा तीज गीत प्रतियोगिताका सहभागी । तस्वीर: प्रेमनारायण आचार्य

“दोस्रो चुनाव भएको नी नौ महिना भैसक्यो, संविधान बन्दैन कि शंका लाईसक्यो, ” तीज गीत प्रतियोगितामा महिलाहरुले यसरी संविधान निर्माणप्रति चिन्ता र चासो देखाए ।

अर्घाखाँचीको फुदबांगस्थित फुलबारीमा स्थानीय महिला समूहले संविधान निर्माणबारे यस्ता धेरै टुक्का जोडेर गीत गाए ।

उनीहरुले नेताहरु संविधान निर्माणमा इमान्दार नदेखिएको, जनतालाई झुक्काएको भन्दै चोटिला गीतहरु तीजको भाकामा गाए ।

बाढी पहिरोमा परी सयौंले ज्यान गुमाएको र पीडीतले राहात नपाएको पीडा पनि गीतमार्फत व्यक्त भएको थियो ।

यसअघि जस्तो घर परिवारको किचलो, बुहार्तनको दुखका गीत भन्दा देश, दुनियाँकै चासोको गीत गाउँदै महिलाहरु नाचेका थिए ।

“बस न युवा गाँउ गाँउमा, उद्योग खोलौ ठाँउ ठाँउमा” स्थानीय राधाकृष्ण समूहले यो गीत सुरिलो भाकामा गाउँदा सबै जुरुक्क उठेर नाच्न तम्सिए । यो समूहले स्वदेशमा अवसर नपाउँदा विदेशिनुपर्नेको पीडा समेत गीतमा समेटेको थियो ।

फुलबारी रिसोर्ट फुदबांगको आयोजनामा भएको जिल्ला स्तरीय तीज गीत प्रतियोगीतामा राधाकृष्ण महिला समूह फुदबांग प्रथम, प्रगतिपुञ्ज महिला समूह भालुखोला द्वितीय र सृजनशिल आमा समूह खाँचीकोट तृतीय भए ।

तीज गीत प्रतियोगितामा हजारौंको संख्यामा स्थानीय उपस्थित थिए ।
प्रेमनारायण आचार्य, अर्घाखाँची

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>